आजबाट पश्चिम नेपालमा मौसम सुधार


काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशभर बदली र वर्षा भयो । शनिबार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार देशभर नै घाम लागेन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज (शुक्रबार) दिनभर नै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भयो,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहँदा दिनभर जनजीवन प्रभावित बन्यो ।

पूर्वमा वर्षा र हिमपातको सम्भावना

पश्चिम नेपालमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भयो । उपत्यकाको डाँडाहरूमा हिमपात हुँदा हिउँ खेल्नेहरूको भिड नै देखिन्थ्यो । ‘हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेकै छ,’ मौसमविद् प्रधानांगले भने, ‘काठमाडौं उपत्यका आसपासमै पनि हिउँ परिरहेको छ ।’ बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म गण्डकी प्रदेशसम्म आइपुगेको थियो । शुक्रबार उपत्यका र पूर्वी भेगसम्म वर्षा र हिमपात भयो । मौसमविद् प्रधानांगले भने, ‘सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको छ । साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भयो ।’ वर्षाका कारण देशभर चिसो बढेको छ । शुक्रबार साँझ सबैभन्दा कम तापक्रम जुम्लामा माइनस १ डिग्री सेल्सियस अधिकतम् २ दशमलव २ डिग्री सेल्सियस मापन भएको ।

यसैगरी, डडेल्धुरा न्यूनतम् माइनस् शून्य दशमलव ६ डिग्री सेल्यियस अधिकतम् र शून्य दशमलव ८ दशमलव डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभाव विस्तारै पश्चिमबाट पूर्वतिर सर्दै आएको छ । त्यसैले बाग्मती प्रदेश र प्रदेश–१ मा बिहीबार राति नै वर्षा र हल्का हिमपातको सम्भावना छ । ‘ पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जान्छ । बिहीबार बाग्मती प्रदेश र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

उपत्यकामा आज रातिदेखि वर्षा हुन्छ भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन्छ,’ मौसमविद् प्रधानांगले भने । वर्षा र हिमपातको क्रम शुक्रबार दिनभर रहने उनले बताए । शुक्रबार देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै, शनिबार पनि गण्डकी, बाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानांगले बताए । काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकूल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘ इनरुट’मा देखिएको छ । जसले गर्दा उडान÷अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनुपरेको कार्यालय स्रोतले जनाएको छ । बुद्ध एयरका अनुसार गन्तव्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरू ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।

विमानस्थल कार्यालयका अनुसार बिहान सिमराका लागि निर्धारित उडानहरू रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडानसमेत डिले हुने समस्या छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएको हो । हिमपातपछि बढेको चिसोले यी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठाउँठाउँमा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा तराईबाट पहाड जाने र तराई झर्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीकाअनुसार डोटीको गैरा र डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै बैतडीमा अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौंलगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ भने बझाङमा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध छ ।

सम्बन्धित शीर्षक