राष्ट्रिय सभा निर्वाचन: मतगणना सुरू


राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान सकिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरू गरिएका छन्।

लुम्बिनी प्रदेशमा मतगणना नै सुरू गरिसकिएको छ। निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणना सुरू गरिएको बताए। लुम्बिनीको निर्वाचन दाङको घोराहीमा भएको थियो। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल २०२५ जना मतदाता थिए।

रिक्त १९ पदका लागि आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान भएको थियो। बागमती प्रदेश र मधेश प्रदेशमा केही समस्या देखिए पनि अन्यत्र भने शान्तपूर्वक नै निर्वाचन भएका छन्।

बागमतीमा माओवादी सांसद र मतदान अधिकृतबीच मतदानका बेला तस्बिर खिचेको विषयमा विवाद भएको थियो। मधेश प्रदेशमा भने जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए। उनीहरूले जनप्रतिनिधि र चिकित्सकहरूमाथि आक्रमण र सरकारी गाडी तोडफोड गरेका थिए।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा रहेको छ। १९ पदका लागि विभिन्न १२ दलबाट ४३ जना उम्मेदवार छन्।

सम्बन्धित शीर्षक