जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न सरकारी कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कर्मचारी कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । पुष महिनाको २१ र २२ गतेका दिन गरिएको ११ वटा कार्यालयको अनुगमनमा कर्मचारीहरुले तोकिएको समयमा कार्यालयमा नआएको पाइएको बताईएको छ ।
यस्तै कर्मचारीहरुले चिसोका कारण तोकिएको पोसाक पनि नलगाएको फेला परेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो । कार्यालयको संरक्षण तथा सरसफाई जस्ता विषयमा ध्यान नदिएको, सबै कार्यालयमा दरबन्दि अनुसारका कर्मचारी पदपूर्ति नभएको, कार्यालय प्रमुख प्रदेश स्तरीय गोष्ठि तालिम लगायतका कार्यक्रममा सहभागि हुन जाने र लामो समय विदा बस्ने गरेको भेटिएको उहाँको भनाइ छ ।
यस्तै केहि कार्यालयहरुमा सेवाग्राहि मैत्री प्रतिक्षालय, मोवाई चार्जिङ्ग, लैङ्गिक मैत्री शौचालय र खानेपानी लगायतको राम्रो व्यवस्था रहेको अनुगमनका क्रममा भेटिएको प्रसाईले बताउनु भयो । सरकारी कार्यालयहरुको सेवा प्रवाह सुधारको लागि गरिएको अनुमनबाट सेवाग्राही मैत्री ंसंरचनाको विकास गर्न, विदा तथा हाजिरको अभिलेख दुरुस्त राख्न, सूचना अधिकारीको नाम, फोटा र फोनम्बर समेतको फ्लेक्स प्रिन्ट गरि सबैले देख्ने गरी राख्न सुझाव दिइएको उहाँको भनाइ छ ।
प्रसाईका अनुसार कार्यालयहरुबाट सम्पादित वार्षिक, अर्धवार्षिक तथा त्रैमासिक कार्यक्रमहरुको सरोकारवाला निकाय तथा संचारकर्मीहरुलाई जानकारी गराउन, एक विरुवा एक कर्मचारी अभियानाई निरन्तरता दिन र प्रविधि मैत्री सेवा प्रदान गर्न अनुगमनका क्रममा सुझाव दिईएको उहाँले जानकारी गराउनु भयो ।
नागरिक बडापत्रको व्यवस्थापन, सूचना अधिकारी, सहायता कक्षा, सेवाग्राही प्रतिक्षालयको व्यवस्था, स्तनपान कक्ष, सेवाग्राही मैत्री पूर्वाधार र कर्मचारी उपस्थित बोर्ड लगायतको विषयमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो । चालु आर्थिक वर्षमा भए गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी गराउँदै पछिल्ला समयमा सुशासन कायम गर्न धेरै सुधारात्मक प्रयास गरिएको जानकारी उहाँले जानकारी दिनुभयो ।
यसरी तोकिए अनुसार काम नगर्ने निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९, स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य सेवा ऐन, २०५३ र करार सेवाका कर्मचारीलाई सेवा करार सम्झौता बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने पनि उहाँले बताउनु भयो ।
धेरै जसो कार्यालयहरुमा प्रसस्त ठाउँ भएता मोवाइल चार्जिङ, लैङ्गिक मैत्री शौचालय जस्ता आधारभूत संरचना बनाउन पहल नभएको प्रसाईको भनाइ छ । वार्षिक कार्यक्रमहरु तोकिएको समयमा नभएको लगायतका कुराहरु भेटिएको हुनाले सुधार गर्न सुझाव दिईएको उहाँले जानकारी गराउनु भयो ।