विद्यालयको जग्गामा वडा कार्यालय, वडामै जान्छन् विद्यार्थी पढ्न

May be an image of 9 people and outdoors

                                                 वडा कार्यालयमा विद्यार्थी पढाउँदै शिक्षक : तस्वीर

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ४ खाल्चौर स्थित भानुभक्त प्राथमिक विद्यालयको प्राङ्गणमा वडा कार्यालयको भवन छ ।

विद्यालय र वडा कार्यालय संगसंगै खुल्छन् । वडामा सेवा सुविधा लिन आएका सेवाग्राही र विद्यालय पढ्न आएका विद्यार्थी एक आपसमा हेराहेर गर्छन् । विद्यार्थीको ध्यान शिक्षकले पढाएको भन्दा सेवाग्राही हेर्न तिर जान्छ ।

विद्यालय शान्त क्षेत्रमा हुनुपर्ने भएपनि वडा कार्यालयले विद्यालयको जमिनमा भवन बनाई सेवा सुरु गरेकोले त्यहाँ विद्यार्थीको पढाईमा निकै समस्या आईरहेको छ । विद्यालयमा ९८ जना विद्यार्थीले पढिरहेका छन् ।

वडाध्यक्षले मनोमानी ढंगले विद्यालयका शिक्षकहरुलाई नसोधि स्कुलको प्राङ्गणमा वडा कार्यालयको भवन बनाएको विद्यालयका प्रधानध्यापक हिरालाल पन्तले आरोप लगाए । उनले भने, ‘वडाध्यक्ष्य ज्यूले स्कुल प्रशासनलाई कुनै जानकारी नदिई मनोमानी ढंगले वडा कार्यालयको भवन बनाई सेवाप्रवाह गरिरहनु भएको छ, जग्गा विद्यालयको नाममा दर्ता छ ।’

उनले थपे, ‘विद्यालयका कर्मचारी, अभिभावक कसैलाई जानकारी नदिई, वडाध्यक्षले दादागिरी हिसावले विद्यालयको फिल्डमा भवन बनाई सेवा प्रवाह गरिरहनुभएको छ, विद्यार्थीहरुलाई कसरी ध्यान केन्द्रीत गरी पढाउने भन्ने हामीलाई निकै चिन्ता भएको छ ।’

विद्यालयको वीच फिल्डमा वडा कार्यालयको भवन बनाउँदा आफ्ना छोराछारीको पढाईमा निकै समस्या भएको अभिभावकहरुको भनाई छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले दिएको जानकारी अनुसार विद्यालय रहेको जग्गा तत्कालिन लहँ गाउँ पञ्चायतको नाममा २०४४ सालमा दर्ता भएको छ ।

कति छ भन्ने वडा कार्यालयको भवन बनाउँदा वडाले नगर बाट अमिन लिएर नापी नक्साको आधारमा भवन बनाएको वडाले मौखिक जानकारी दिएको बताए ।

उनले भने, ‘त्यो जग्गा लहँ पञ्चायत गाउँको नाममा दर्ता भएको कुरामा म क्लिएर छु, त्यो कागज कता छ, च्यातियोकी के भो भन्ने कुरा पछिल्लो वडा कार्यालयले गर्ने कुरा हो, २०४४ सालमा तत्कालिन लहँ गाउँ पञ्चायतको नाममा उक्त जग्गा दर्तामा छ ।’

वडा कार्यालय बनेपछि विद्यालयलाई भानुभक्त माद्यामिक विद्यालयको तल्लो फिल्डमा सार्ने कुरा भईरहेको समेत रावलले बताए । सरकारी सेवा प्रदायक निकायहरुले एकले अर्कालाई डिस्टर्व गर्न नहुने र विद्यालयलाई माथि माद्यामिक विद्यालय नजिकै सार्नुपर्ने आफुले माग गरिरहेको बताए । यता वडाध्यक्ष लक्ष्मी रावललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित शीर्षक