जुम्लाका २० हजार बालबालिकालाई कोरोना खोप लगाईदै

गणेश रावत
जुम्ला । जुम्लाका २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । यहाँका १ नगरपालिका र ७ वटा गाउँपालिका भरका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको छ । चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ देखि १० पुस सम्म मोर्डना खोप लगाउन थालिएको छ ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्यांक संकलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने तयारी भइरहेको छ ।’

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका ३ हजार ८ सय बालबालिकालाई मोर्डना खोप लगाउने लक्ष्य छ । उनले भने, ‘शुक्रबारसम्म १ हजार ९३५ जना बालबालिकालाई खोप लगाइसकिएको छ ।’

कर्णालीका ९ जिल्लामै लगाइँदै खोप
सुर्खेत बाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी २ देखि १० माघसम्म लगाइने जानकारी दिए ।

‘साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रतिवडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ । विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घन्टाभित्र लगाइसक्नुपर्नेछ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै फाइजर खोपको पहिलो मात्रा दिइएको छ ।

सम्बन्धित शीर्षक