जुम्लामा १४८ गणक परिचालन हुने

जुम्ला । जुम्लामा राष्ट्रिय जनगणनाका लागि १४८ गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि १४८ गणक खटाउने जनगण्ना कार्यालय जुम्लाका कार्यालय प्रमुख शंकर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ यही कात्र्तिक २५ देखि मङ्सिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि कार्यालयले सबै तयारी गरेको छ । गणकका लागि चारदिने तालिम समेत कार्यालयले दिएको छ । यहाँका आठवटै स्थानीय तहमा खटिने गणकका लागि तीन ठाउँमा तालिम संचालन गरिसकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख भट्टले बताउनुभयो । ”

पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाको चन्दननाथ नगरपालिकाको खलङ्गा बजारमा तथा तातोपानी गाउँपालिका र तिला गाउँपालिकाको कुडारी बजारमा, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सिंजा गाउँपालिकाको नराकोट बजारमा तालिम संचालन गरिएको कार्यालय प्रमुख भट्टले भन्नुभयो,“तालिममा १४८ गणक र १३ जना सुपरीवेक्षकको सहभागिता रहेका थियो । सो तालिममा गणकलाई घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन ।

सोहीका आधारमा अब गणकले यही कात्र्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन । गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण सङ्कलन गरिने कार्यालय प्रमुख भट्टले बताउनुभयो । ”कार्यालयका अनुसार दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने जनगणना कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुुुसार तिला गाउँपालिका २१ जना गणक परिचालन गरिने भएको छ । जसमा हिमा गाउँपालिकामा १२ जना,तातोपानी गाउँपालिकामा १८ जना,सिंजा गाउँपालिकामा १४ जना,कनकासुन्दरी गाउँपालिकामा १८ जना, चन्दननाथ नगरपालिकामा ३३ जना,गुठीचौर गाउँपालिकामा १२ जना र पातारासी गाउँपालिकामा २० जना यही कार्तिक २५ गतेबाट गणक परिचालन हुने जनगणना कार्यालय जुम्लाले जनाएको छ ।

२४ हजार आठ सय घरपरिवार सुचीकृत

जिल्लामा २४ हजार आठ सय घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका २४ हजार आठ सय घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरण अन्तर्गत ४१ सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना कार्यालय जुम्लाका कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

सम्बन्धित शीर्षक