दाङ जाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु २१ घाइते

सल्यान : सल्यान र दाङको सिमानामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका- ३ का गाडीमालिक देवबहादुर सुनार भएको इलाका प्रहरी कार्यालय खिलकपुरले जानकारी दिएको छ।

सल्यानको कालिमाटी गाउँपालिका –३ कालिमाटीबाट दाङको तुलसीपुर जाँदै गरेको भे१त ५२२ नम्बरको जिप दाङ बबई गाउँपालिका- २ एक्लेबरनजिकै सोमबार बिहान दुर्घटना भएको हो।

जिपमा कति यात्रु सवार थिए भन्ने यकिन नभए पनि २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलकपुरका प्रहरी निरीक्षक नविन चुदालीले जानकारी दिए।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। जिप चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

सम्बन्धित शीर्षक