हवाई टिकट नपाउदा बिरामी घर फर्किए

गणेश रावत,

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले रेफर गरेको कागज देखाउदै गुठिचौर गाउँपालिकाका रिमाल पाण्डे जुम्ला विमानस्थल पुगे । उनको तीन महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । तर अस्पतालले नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनु पर्ने भएपनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिवार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी अस्पतालमा पुगे । हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारी देखि एजेन्सी सबैलाई हारगुहार गरे । तर टिकट पाएनन ।
विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेका थिए । उनले गरेको फोन र देखाएको रेफर कागजको विमानस्थलमा कुनै सुनुवाइ भएन । उनी छोरा लिएर घर फर्किए । उनले भने,‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए । ’
दुइ दिन अघि देखि टिकटका लागि पहल थालेको थिए । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिए । उनले भने,‘छोराको अवस्था जटिल हुदै टिकटको लागि पहल गरेको थिए । तर टिकट पाउन सकिन । अन्नत बिरामी छोरो बोकेर घर फर्किँए । ’ एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीनदिन अघि देखि सीट प्याक भइसकेको भन्दै फर्काए । बिरामीले जहाजमा उड्न नपाउनु बिडम्वना हो । उनले भने,‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । तर टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र हो भन्ने जस्तो आभाष हुन्छ ।’
दुइ दिन अघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षिय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नु पर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनु पर्ने भन्दै बिरामीको विकल्प अरु हुन नसक्ने बैठकको निष्कर्ष थियो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए । उनले भने,‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ । अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभुति हुनेछ । ’उनले दुखी बिरामीको लागि कर्णालीको हवाइसेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताए ।
विमानस्थलमा भएको भद्रगोलको बरोमा जति निर्णय र छलफल भएपनि इटिकटको व्यवस्था नभए सम्म नरोकिने उनले बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हवाई सेवामा रेफर भएका विरामीलाई पहिलो प्रथामिकता दिनुपर्ने बताइन् । उनले भनिन,‘धेरै दिनदेखि विरामी होल्डमा थिए । अक्सिजन सिलिण्डर अभावले रोकिएका पातारासीका एक विरामीलाई सोमबार पठाइको थियो । अन्य विरामीलाई जटिलता हेरेर प्रथामिकता दिइन्छ ।’ सबैले समान रुपमा हवाइ सेवा पाउनुपर्छ । रिमाल पाण्डेको विरामीलाइ मंगलबार जसरी पनि टिकट मिलाउन पहल गर्ने प्रतिबद्धता जनाइन । जुम्लामा तारा,सीता र समिट एयरका जहाज चल्ने गर्छन ।

सम्बन्धित शीर्षक