मुगु दुर्घटनामा ३२ ज्यानकाे मृत्यु, अधिकांश विद्यार्थीहरू

  ।   २७ आश्विन २०७८, बुधबार ०६:५२

 मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।


नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगन्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगन्ज पुर्‍याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए । उनका अनुसार हाल १३ जना उपचाररत छन् ।

Next Post

विकृतिविरुद्ध जुम्लाका किशोरी

२७ आश्विन २०७८, बुधबार ०६:५२
जुम्ला सिँजा गाउँपालिका ५ नराकोटकी राज्यलक्ष्मी हमाल किशोरीको पक्षमा वकालत गर्ने एक अभियन्ता जस्तै हुन्। उनी किशोरी अधिकारका बारेमा संधै छलफल गर्छिन्। गाउँमा बालिका वा किशोरीमाथि भएको अन्यायका बारेमा सुक्ष्म तरिकाले अध्ययन गर्छिन्। पछिल्लो समयमा बालिका वा किशोरीमाथि अनलाइनबाट हुने हिंसाका विषयमा आवाज उठाउन थालेकी छिन्। पटक-पटक गाउँको सिंहदरवार भनिएका […]