शिक्षा प्रेमी नेता लक्ष्मण शाही

जुम्ला हिमा गाउँपालिका १ बड्कीका लक्ष्मण शाही कोरोना महामारीको बेला घरदैलोमा सचेतना फैलाउन निकै व्यस्त देखिए। उनी मास्क बाड्न थाले। कोरोनाबाट जोगिनको लागि हिमावासीलाई उच्च सतर्कता अपनाउनको लागि अपिल गर्न थाले। सायद कोरोना महामारीको समयमा यत्तिको गरेर स्थानीय सरकारका प्रतिनिधि पनि खटिएका थिएनन्।

उनी नेपाली काँग्रेस जुम्लाको संगठन विभाग प्रमुख हुन। स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार पनि। उनी हरेक बस्तीमा पुगे। पहिलो लहरमा कोरोनाको त्रास निकै थियो। गाउँमा उनी जादा जनताले भरोसा मान्थे। व्यक्तिगत लगानीमा गाउँगाउँमा पुगेर मास्क बाँडेर व्यक्तिगत तथा सामाजिक दूरी कायम गरेर कोरोना महामारीको युद्धमा जित्न उर्जा थपिरहेका हुन्थे।

हरेक महामारीलाई परास्त गर्न पहिलो उर्जा भनेको सचेतना हो। यो शिक्षा पनि हो। उनले भने,‘जब जुनसुकै व्यक्ति, समुदाय महामारी प्रति शिक्षित हुन्छ। त्यो समुदायमा महामारी रोक्न सजिलो हुन्छ। त्यही विधि कोरोना महामारीको बेला अपनाएको थिए।’

उनले शिक्षा र स्वास्थ्य एकै सिक्काका दुई पाटा भएको बताए। उनले हरेक क्वारेन्टिनमा पुगेर राहत दिए। सचेतना फैलाए। आइसोलेसनमा स्वास्थ्य सामाग्री प्रदान गरे। शाहीको कोरोना महामारीका खेलेको भूमिका अहिले जनताको मनमुटुमा ताजै छ।

‘कोरोना महामारी अहिले सामान्य बन्दै गइरहेको छ। यो बेला उनी शिक्षामा लगानी गर्ने बिषयमा जागरुक हुन थालेका छन्। जब शिक्षा व्यवहारिक र व्यवसायिक बन्न सक्दैन। तबसम्म हाम्रो समाजको विकास हुदैन’, उनले भने,‘सबै मिलेर शिक्षामा लगानी गरौँ। सभ्य,सुसंस्कृत र शिक्षित समाजको निर्माणमा अग्रसर बनौँ। भविष्यका लागि यही नै हीतकारी हुनेछ। ’

कोरोना महामारीमा जनताको प्रिय बनेका शाहीले यही साता एक विद्यालयमा १ लाख ५१ हजार एक सय ५१ रुपैयाँको अक्षयकोष खोले। गाउँमै रहेको कालिका माध्यामिक विद्यालयको अक्षयकोषमा रकम जम्मा गरेपछि शिक्षक, अभिभावक र विद्यार्थी उत्साहित छन्। उनले भने,‘अक्षयकोषले बालबालिकाको गुणस्तरिय शिक्षामा टेवा पुग्ने अपेक्षा गरेको छु। यो मेरो लागि एक महत्ववपूर्ण, ऐतिहासिक कार्य हो। मैले सही मनसायका साग शिक्षामा लगानी गरेको छु।’

विद्यालयका शिक्षक खाम्बा शाहीले विद्यालयमा गरिएको लगानीले दक्ष जनशक्ति उत्पादनमा उत्साह बढाउने बताए।

नेता शाहीले भने,‘अझै पनि कोरोना महामारी कायमै छ। हरेक व्यक्तिले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र साबुन पानीले नियमित रुपमा हात धुने बानी बसाल्नु होला। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर कोरोना महामारीविरुद्धको कार्यलाई थप मद्धत पुर्याउनु होला।’

सम्बन्धित शीर्षक