सिँजा गाउँपालिका अध्यक्ष बनिन् राज्यलक्ष्मी हमाल

जुम्लाको सिँजा गाँउपालिका ३ नराकोटकी २१ वर्षीय किशोरी राज्यलक्ष्मी हमाल एक दिनका लागि सिँजा गाउँपालिकाको अध्यक्ष बनेकी छिन्। उनलाई एक दिनका लागि सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सवैको उपस्थितीमा पद हस्तान्तरण गरेका थिए। अध्यक्ष रावलले भने, ‘आफ्नो गाउँपालिका भित्रको एक सक्षम किशोरीलाई एकदिनको लागि अध्यक्ष पद हस्तान्तरण गर्न पाउँदा खुसी छु। यो एक प्रकारको अवसर पनि हो। आगामी दिनमा पनि किशोरीहरुको हकहितका लागि वकालत गर्ने विश्वास राखेको छु।’

अहिले अनलाइनमा बालिका तथा किशोरीकेन्द्रीत विभिन्न प्रकारका विकृति सिर्जना भएका छन्। यो एक प्रकारको हिंसा पनि हो।अब अनलाइनको दुरुपयोग रोक्दै सदुपयोग गर्न प्रेरणा प्रदान गर्न यो एक कोसेढुंगा सावित हुने विश्वास लिएको उनले बताए। एकदिनको अध्यक्ष राज्यलक्ष्मीले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रम ल्याउने बताइन्।  उनले सबै प्रकारका हिंसा अन्त्य गर्न जुट्नु पर्नेमा जोड दिइन्।

बालिका तथा किशोरीहरुको अधिकार संरक्षण, सम्वद्र्धन र उनीहरुको सशक्तिकरणप्रति गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको बताइन्। हाल बढ्दो रुपमा रहेको इन्टरनेटको सुविधामा बालिका तथा किशोरीहरुले लाभ लिन सकून्। उनीहरुको पहुँच पुगोस्। क्षमता वृद्धि होस् भन्ने हामी चाहन्छौँ। उनले भनिन्, ‘अनलाइनमा बढ्दो झुटो जानकारी र गलत तथ्यहरु  सार्वजनिक गरी भ्रमित गरिने अभ्यासबाट सचेत गराउनु पनि स्थानीय सरकारको दायित्व हो।’

सिँजा गाउँपालिका, प्लान इन्टरनेश्नल नेपाल, हामी दाजुभाइ र क्याड नेपाल लगायतका संघ संस्थाहरुसँग सहकार्य गरी गल्स सेट इक्वायल, फ्रि टु बी अनलाइन जस्ता अभयानलाई स्थानीय स्तरमा अघि बढाउन तयार रहेको जानकारी दिइन्। उनले भनिन्, ‘म एक दिनको अध्यक्ष हुन पाउँदा औधि उत्साहित छु। एक दिनको अध्यक्ष बन्दा उठेका सवालप्रति गाउँपालिका प्रतिबद्ध हुने विश्वास गरेकी छु।’

अध्यक्ष बनिसकेपछि राज्यलक्ष्मीले बालिकाबाट पदीय जिम्मेवारीमा रही अनलाइनमा बालिका तथा किशोरीको पहुँच र सुरक्षाका बारेमा पालिकाको तर्फबाट प्रतिबद्धता जनाइन्। उनले बालिकाहरुको विश्व आवाजलाई पढेर सुनाउदै आफ्नो प्रतिबद्धता पत्र पढेर सुनाइन्।

बास्तविक नगरप्रमुखको लेटरहेडमा प्रतिबद्धता पत्र प्रिन्ट गरेर नाम, हस्ताक्षर र संस्थागत छाप लगाएर गाउँपालिकामा राखिन्। राज्यलक्ष्मी अहिले कर्णाली प्राविधिक शिक्षालयमा आइएस्सीएजी पढ्छिन्। लामो समयदेखि किशोरीहरुको पक्षमा वकालत गर्दै आएकी उनी डिजिटल टेक ओभर सिँजागाउँपालिको अध्यक्ष समेत हुन्।

सम्बन्धित शीर्षक