चुनावको झल्को दिने काँग्रेस महाधिवेशन

नेपाली काँग्रेस जुम्लाले अधिकांस वडामा सर्वसहमतिमा नेतृत्व टुंग्यायो। दुई वटा पालिकामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्‍याे। ती हुन् चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका। अधिकांस पालिका र वडामा सहमतिमा सभापति चयन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशनमा सहमति गर्न सकेन। लामो समय सम्म सहमतिको प्रयास भयो। नेतृत्व छनौटमा कुनै टुंगो नलागेपछि निर्वाचन प्रक्रियामा अघि बढ्ने निधो गर्‍याे।

जुम्लामा प्रदेश क्षेत्र अन्र्तगत दुई क्षेत्र छन। ती प्रदेश क्षेत्र (क) र (ख) हुन। प्रदेश क्षेत्रीय निर्वाचनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच निर्वाचन भयो। निर्वाचन पार्टीको आन्तरिक निर्वाचन जस्तो थिएन। त्यो आम निर्वाचन जस्तो थियो। प्रचार शैली आन्तरिक चुनाव जस्तो थिएन। फरक पार्टी संग आम निर्वाचनमा प्रतिश्पर्धा गरे जस्तो थियो। पर्चा पम्पलेट बनाईएका थिए।

एक आपसमा निकै टकराव जस्तै भान हुन्थ्यो। चुनाव निकै भड्किलो थियो। काँग्रेस चुनाव निकै तडकभडक पुर्ण भएको स्थानीय बताउँछन्। स्थानीय जनकबहादुर रावत अहिले सम्म काँग्रेस भित्र यो खालको निर्वाचन नभएको बताउँछन्। उनले भने, ‘स्थानीय र आम चुनावमा काँग्रेस यसैगरी कसिएको भए नम्बर एक पार्टी बन्ने थियो। बाहिर नरमरुपमा प्रस्तुत हुन्छ, भित्र कडा प्रतिश्पर्धा गर्छ यही भएर काँग्रेस प्रति जनविश्वास घट्दो छ।’ निर्वाचनमा दुवै क्षेत्रमा पौडेल पक्षको नेतृत्व प्यानलसहित बिजयी बन्यो। देउवा पक्षले नराम्ररी हार बेहोर्‍याे। देउवा पक्ष बिजेता प्रतिनिधिको प्रमाणपत्र वितरण कार्यक्रममा समेत सहभागि भएन। यसले काँग्रेस भित्र ठूलो खाडल सिर्जना भएको संकेत गर्छ।

गाउँ तथा नगरपालिकाको वर्चस्व जमाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश क्षेत्रीय अधिवेशनमा  पनि वर्चस्व कायम गरेको छ। दुवै क्षेत्रमा पौडेल पक्षको प्यानलै विजयी भएको हो।  प्रदेश ‘क’ का सभापति लक्षिमन बोहरो ४९८ मा २४९ मत ल्याएर विजयी भए। प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २३१ मत प्राप्त गरे। त्यस्तै, पौडेल पक्षकै उपसभापति रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए।  प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन्। उनी पनि पौडेल समूहकै हुन्।

विजयी उम्मेदवार बुढाले ४९० कुल मतमध्ये २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए। प्रतिस्पर्धी देउवा पक्षका भीमनिधि हमालले १९९ मत ल्याए। उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले बताए। २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ।

यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन्। कांग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जितसँगै संस्थापनलाई जुम्लामा झट्का लागेको छ। जिल्ला सभापतिमा पनि पौडेल समूहकै जित हुने नेताहरूले दाबी गर्दै आएका छन्। जिल्ला सभापतिमा पौडेल पक्षबाट दीपबहादुर शाही र देउवा प्यानलबाट कर्णबहादुर शाही बीच प्रतिश्पर्धा हुने देखिन्छ।

सम्बन्धित शीर्षक