जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट

लक्ष्मी न्यौपाने
जुम्ला ।
जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुदा ३५ घर जलेर नष्ट भएका छन । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।
पानी प्रयाप्त पानी नभएको आगो नियन्त्रणमा आउन सकेको छैन । घरको छाना निकाल्ने र माटो हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने,‘आगो नियन्त्रण बाहिर छ । निभाउनको लागि पानी छैन । घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’
३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेकोछ । आगो कसरी लागेको हो भन्ने बिषयमा जानकारी लिने प्रयासभइरहेको छ । मान्छेहरु बेहोस छन । आगलागीको एकिन विवरण आउन बाँकी छ ।
यो तिला ९ ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन । मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।
वडाध्यक्ष बोहोराले भने,‘स्याउला संकलनका लागि एक दुइ दिन भित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो । ’ उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी घटना स्थल तिर पठाइसकेको बताए । सदरमुकाम खलंगा देखि गएको प्रहरीको टोली पाँच घण्टा पछि आगलागी स्थलमा पुग्नेछ । उनले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका– ९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताए । उद्दारका लागि घटनास्थल तर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ उनले भने,‘ उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु । ’
यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुदा ३१ घर जलेर नष्ट भएका थिए ।
यो संगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकाम स्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वन आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षक