चैत्र २१, २०७७ शनिबार
काठमाडौँ — एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै मुलुकमा तानाशाही लाद्ने दुष्प्रयास गरिरहेको आरोप लगाएको छ । ओलीका यस्ता कदमविरुद्ध देशव्यापी रूपमा संगठित प्रतिवाद गर्न खनाल–नेपाल समूहले आमकार्यकर्तालाई आह्वान गरेको छ । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि शुक्रबार बसेको यो समूहको स्थायी कमिटी बैठकले ओलीका कदमको समीक्षा गरेको थियो । ओलीले जसरी पनि पार्टी विभाजन गर्ने उद्देश्यले दुराशयपूर्ण ढंगबाट विधानविपरीत गतिविधि गरेको यो समूहको ठहर छ । बैठकपछि निलम्बित चारसहित स्थायी कमिटीका ११ जनाले शुक्रबार संयुक्त व्यक्तव्य जारी गर्दै ओलीका कदमको भर्त्सना गरेका छन् ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ, राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।
आफैंले गोप्य सम्झौता गरी तत्कालीन माओवादी केन्द्रसँग एकीकरण गरेको र एकता भंग गर्न कोसिस गर्ने ओलीले एमालेलाई समेत विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न खोजेको आरोप खनाल–नेपाल समूहको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि गरेको विधानविपरीतका क्रियाकलाप रोकेर पूर्ववत् पार्टी कमिटीलाई क्रियाशील बनाउन आग्रह गर्दा ओलीले नमानेको उनीहरूको गुनासो छ ।
पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख ओलीलाई मान्य भएन,’ उनीहरूले भनेका छन् । आफूहरूले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबाट पनि पार्टी एकता जोगाउन आग्रह गरेको तर ओलीले नस्विकारेको उनीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने विभिन्न काम भए,’ संयुक्त वक्तव्यमा छ । नेताहरूमाथि कथित स्पष्टीकरण सोध्दै झूटा लाञ्छनासहित निलम्बन गरिएको भन्दै उनीहरूले यो विधानविपरीत र स्वेच्छाचारी कदम भएको बताएका छन् ।
पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता हो,’ संयुक्त वक्तव्यमा छ, ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई सक्रिय हुन आह्वान गर्दछौं ।
ओलीले नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल–नेपाल समूह अब समानान्तर संरचना बनाएर पार्टीकै रूपमा अघि बढ्ने निष्कर्षमा पुगेको छ । यो समूहले भ्रातृ संगठन, प्रदेश र जिल्ला कमिटीमा आफ्नो संरचना निर्माण गर्न थालेको छ । शुक्रबार बसेको बैठकले पनि चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा र त्यसमा आएका सुझावलाई एकीकृत गरेर देशव्यापी रूपमा पठाउने निष्कर्ष निकालेको छ । शनिबार बस्ने बैठकले उक्त अवधारणालाई अन्तिम रूप दिनेछ ।
राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वेच्छाचारिताविरुद्ध संगठित रूपमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षपछि पनि खनाल–नेपाल समूहले ओलीसँग कुनै सहमति भइहाल्छ कि भनेर पर्खेको थियो तर ओलीले झन् किनारा लगाउने खालका कदम चालेपछि खनाल–नेपाल समूहले संगठनात्मक रूपमा आफ्नो शक्ति सञ्चय गर्दै पार्टीको अभ्यास गर्न लागेको हो ।