कुपोषित बालबालिकाको गाउँमै उपाचार

सल्यान : सल्यानमा शीघ्र कुपोषण भएका बालबालिकाको एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको स्थापना भएको छ। शारदा नगरपालिका–१ स्थित खलंगा स्वास्थ्य चौकी र छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना भएको हो।

सेवा सुरु भएको पहिलो दिन खलंगा स्वास्थ्य चौकीमा एकजना मध्यम शीघ्र कुपोषित र  छायाँक्षेत्र स्वास्थ्य चौकीमा दुई जना कडा शीघ्र कुपोषित र एकजना मध्ययम शीघ्र कुपोषित बालबालिकाको उपचार गरिएको छ। ्

केन्द्रमा कडा शीघ्र र मध्ययम शीघ्र कुपोषण भएका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई तयार पारिएको उपचारात्मक खानामार्फत उपचार गरिने छ। यस्तै सोही अवधिमा बालकालिकाहरुलाई बालभिटा प्रदान गरिने शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले बताए।

६ देखि ५९ महिनाका बालबालिकाहरुको पाखुरा मापनको माध्यमबाट कडा तथा मध्यम शीघ्र कुपोषण भएका बालबालिका पहिचान गरिन्छ। कुपोषित बालबालिकालाई बहिरंग उपचार केन्द्रमा ल्याई एकीकृत रुपमा उपचार गरिने हमालले बताए। यस प्रकारका वहिरंग उपचार केन्द्र जिल्लाका सबै स्थानीय तहमा असोजभित्रै स्थापना गरिने भएको छ।

कुपोषण भएका बालबालिकाको गाउँमै उपचार हुने भएपछि ग्रामीण भेगका सर्वसाधरण खुसी भएका छन्। शीघ्र कुपोषणबाट ग्रसित आफ्नो बच्चालाई घर नजिकैको स्वास्थ्य सस्थामा उपचार गर्न पाउँदा खुशी लागेको  शारदा नगरपालिका–१ शान्तिनगरकी टिका नेपालीले बताइन्। यस्तै, कडा शीघ्र कुपोषणमा परेकी छोरीलाई स्वास्थ्य चौकीमा उपचार गर्न पाएकोमा निकै खुशी लागेको छत्रेश्वरी गाउँपालिका–६ रानगाउँकी भूमि रोकाले बताइन्।

कर्णाली प्रदेशमा पुड्कोपना ५५ प्रतिशत र ख्याउटेपन १७ प्रतिशत रहेको छ।

सम्बन्धित शीर्षक