रेडपाण्डा लगायत अन्य जनावरको दैनिक चोरी निकासी बढ्याे

जाजरकोट।  रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ। प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने वन्यजन्तुजन्य वस्तु र पक्राउ पर्ने मानिसको ग्राफ उकालो लाग्दा यस्तो देखिएको हो। विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ।

संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेडपाण्डालगायत अन्य जनावार चोरी–निकासी गर्ने क्रम बढेको हो। खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अङ्ग ल्याउन व्यापारी गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले बताए।

सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको उनले बताए। ‘हप्तैपिच्छे बारेकोटको जङ्गलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन्। बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाई के मतलब ? वनका कर्मचारी सदरमुकाममात्रै बस्छन्’, उनले भने।

विभिन्न संघसंस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि उनै छलफलमा सहभागी भएका व्यक्ति तस्करसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्यत भएको बारेकोट गाउँपालिका–४ मैनाका रामबहादुर बस्नेतको आरोप छ।

‘चोरी निकासी रोक्नुपर्छभन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कार समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो। प्रहरीले वन समूहलाई समेत सहयोग गरेन, उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ?’, उनले भने।

पाँच वर्षभित्रको तथ्यांक हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रङ्गेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ। मासिँदो जङ्गल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ।

स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारलाई थप सजिलो भएको छ। बारेकोट वन्यजन्तुका लागि उर्वर ठाउँ हो। विश्वमा लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बारेकोटमा भारी मात्रामा रहेको छ। बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियानकर्मी गोविन्द सिंहका अनुसार तस्कारको योजना ठूलो मात्रामा रहेको छ।

यसैबीच, नलगाड नगरपालिका–८, ९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैधरूपमा राखिएका बन्दुक प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। एक महिनाको अवधिमा चारभन्दा बढी बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।

सम्बन्धित शीर्षक