भालु भगाउन रातभर जाग्राम,किसानलाई मकै जोगाउने चिन्ता

गणेश रावत,

जुम्लाका किसान भालु भगाउनको लागि रातभर जाग्राम बस्न थालेका छने । बारीमा लगाएको मकै बाली बचाउनको लागि रातभर जाग्राम बस्ने गरेका हुन । जिल्लाको तिला गाउँपालिकाका किसान भालु भगाउनको लागि अनेकन उपाय अपनाउने गरेको बताउँछन ।
तिला ६ रिपी गाउँका नरिमान रावत भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेको बताउँछन । उनले भने,‘यहाँको प्रमुख बाली भनेको मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन । ’
उनले भालु भगाउनको लागि हरेक बारीमा तर्साउने बस्तु राखिएको उनले बताए । भालु आउने बाटो पहिचान गरेर पासो थाप्ने देखि भाडाकुडा बजाएर भगाउने कार्य चलिरहेको छ । कहिलेकाँही थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । उनले भने,‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिड्न समेत सकस हुने गरेको छ । ’
‘एक त अन्नबाली उत्पादन कम हुन्छ,’ उनले भने, ‘त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन । ’ अधिकांश किसानले खेतबारी वरिपरि मान्छे जस्तै भ्याउने बनाएर राख्ने गरेका छन । पछिल्लो समयमा भालुको तीब्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेतिगर्न छाडेका छन ।
दिउसो मानिसको व्यापक चहलपहल हुने भएकोले भालु बारीमा पस्न डराउँछ , उनले भने,‘रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने,मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । ’
बर्षेनि भालुले बालीमा नोक्सानी पुर्याउन थालेपछि गाउँका किसानले मकै अन्नबाली लगाउन छाडेको उनले जानकारी दिए । मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन । अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घार देखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन ।
यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै दुइ जनालाई आक्रमण गरेको थियो । नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा भालु मारिएको थियो ।
पछिल्लो समयमा गाउँआसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिड्न समेत गाह्रो हुने गरेको स्थानीय बताउँछन ।

सम्बन्धित शीर्षक