पोलहरुमा जडान गरिएका अनावश्यक तार सात भित्र हटाउन निर्देशन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विद्युतका पोलहरुमा अनावश्यक रुपमा तानिएका तारहरुले शहरको सौन्दर्यता नै क्रुप बनाएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोलहरुमा अनावश्यक रुपमा तानिएका तारका कारण शहरको सौन्दर्यता क्रुप बनेको भन्दै स्थानीय प्रशासनले सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।


इन्टरनेट तथा केबुल नेटवर्कको लाइन व्यवस्थापन सम्वन्धमा मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको बैठकले तत्काल शहर क्षेत्रमा अनावश्यक रुपमा राखिएका तार हटाउन निर्देशन दिइएको हो ।
अनावश्यक तार तान्दा सौन्दर्यता घटाएको र दुर्घटना समेत हुने खतरा देखिएपछि तार व्यवस्थापनका लागि निर्णय नै गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपालीरैबारलाइ जानकारी दिए । उनकाअनुसा इन्टरनेट तथा केबुल नेटवर्कका सेवा प्रदायकहरुले विद्युत र टेलिकमसँग समन्वय गरेर मात्रै पोलहरुमा तारहरु जडान गर्न भनिएको छ ।

‘जमिनबाट कम उचाईमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरु सात भित्र हटाउन निर्देशन दिएको छु,’ रिजालले नेपालीरैबारसँग भने, ‘प्रयोगविहिन तार तत्काल हटाउनु पर्ने र आवश्यक तारहरु व्यवस्थि तगर्न पनि भनेका छौं ।’ बैठकले विद्युत र टेलिकमका प्रयोगविहिन पोलहरु हटाउन र पुराना भएका ठाउँमा नयाँ पोलहरु राख्ने निर्णय गरेको छ ।

बैठकले बजार क्षेत्रमा रहेका अनावश्यक तार र पोलहरु हटाए वा नहटाए बारे प्रतिवेदन पेश गर्न स्थलगत अनुगमन गरेर आगामी असोज ६ गतेसम्म समय सीमा तोकेको छ । टोलीमा नेपाल टेलिकम सुर्खेतका प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायकहरु प्रतिनिधि छन् । साथै, बैठकले बजा क्षेत्रमा तारहरु भूमिगत गराउने विषयमा असोज दोस्रो साता पुनः छलफल गर्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित शीर्षक