जुम्लाका गाउँमा सडक पुगे, सवारी पुगेनन्

संघीय व्यवस्था कार्यन्वयन संगै गाउँमा पुगेका सिंहदरबारको पहिलो प्राथमिकता सडक बन्यो । यहाँका अधिकांस स्थानीयतहले पहिला बर्षलाई सडक बर्षको रुपमा मनाए । हरेक बस्तीमा सडक पुगेकोखण्डमा अन्य विकास पनि सहजै रुपमा लैजान सकिन्छ भन्ने मान्यता थियो । गाउँगाउँमा सडक पुगे । सडक खन्ने क्रममा जमिन धुजाधुजा भयो । तर ती सडक अहिले चल्न सकेका छैनन । स्थानीयतहले गाउँमा सडक पुर्याउनुलाई निकै ठुलो उपलब्धि ठानेका छन । स्थानीयले सडक गाउँमा पुगेर पनि सेवा पाउन नसकेको भन्दै दुख पोख्छन ।
अधिकाँस सडक पहिरो संगै बगेर गइसकेका छन । जुम्लाका एक नगरपालिका सहित ८ गाउँपालिकाका ६० वटा वडा सडकले जोडिएका छन । तर स्थानीयलाई पैदल यात्रा नै गरिरहनु परिरहेको छ । न सडकमा गाडी चल्छन, नत सडक स्तरउन्नती नै हुन सकेका छन । उल्टै बनेका सडक बर्षाका कारण बिग्रदै जान थालेका छन ।
जिल्लाको सिँजा गाउँपालिकामा ३३ गाउँ छन । सबै गाउँमा सडक पुगेको छ । तर बर्षायाममा सडक बन्द नै हुन्छ । हिलोले सडक जाम गर्छ । ठाउँठाउँमा पहिरो जान्छ । नियमित रुपमा गाउँका सडकमा गाडी गुड्न सक्दैनन । दैनिक उपभोग्य बस्तु खरिद गर्न हिडेर नजिकैको बजारमा पुग्नु पर्ने बाध्यता कायमै छ ।
गाउँपालिकाका प्रवक्ता नविन शमार्ले हरेक गाउँ सडकले जोडिएको बताए । उनले भने,‘सडकले सुविधा दिन सकेको छैन । हरेक गाउँ संग जोडिएको छ । गाउँका सडक स्तरउन्नती कार्यमा गाउँपालिका जुटेको छ । ’अधिकांस गाउँमा अहिले पनि नियमित गाडी गुडिरहेको बताउँछन । गाउँमै दैनिक उपभोग्य सामान लिएर ट्याक्टर पुगेका छन । एम्बुलेन्स पुग्छन । बिरामी ओसारपसारमा सहजता भएको छ । पहिलो बर्ष सडक बर्षका रुपमा मनाएको सिँजा गाउँपालिकाले अहिले हरेक सडक ग्राभेल हुनुपर्ने अवधारणा अघि सारेको छ ।
सडक पुगेपछि गाउँमा सरकारी सुविधा प्रदान गर्न पनि सहज भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाले पनि सडकलाई प्राथमिकता दियो । सडक पुगेको खण्डमा स्थानीय उत्पादन बजार सम्म लैजान र बजार देखि दैनिक उपभोग्य सामान गाउँ पुर्याउन सहज हुने अपेक्षा गरिएको थियो । तर अहिले गाउँमा खनिएका सडक प्रयोगमा आउन सकेका छैनन । जसका कारण स्थानीयले गाउँमा सडक पुगेको अनुभुति गर्न सकेका छैनन । चल्ने सडक निकै थोरै भए तर नचल्ने सडक गाउँभरी छन ।
यहाँका हरेक धार्मिक पर्यटकीय क्षेत्र सम्म पुग्ने समेत सडक खनिएका छन । प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले गाउँगाउँमा सडक पुगेको बताए । गाउँगाउँमा ट्«याक खोलिएका छन । तर स्तरउन्नती नहुँदा नियमित सवारीसाधन गुड्न सक्ने अवस्था छैन ।
जुम्लाको तातोपानी गाउँपालिका सुर्की,ताम्ती र थलाले गाउँमा सडक पुग्न सकेको छैन । त्यहाँका ३६ गाउँमा ३ गाउँमा सडक पुग्न सकेको छैन । अहिले सडक खन्ने कार्य चलिरहेको छ । जुम्लाको तिला गाउँपालिकाका ४ गाउँमा सडक पुग्न सकेको छैन ।
जिल्लाको गुठिचौर,पातारासी, चन्दननाथ गाउँपालिकाका सबैजसो वडामा सडक पुगेका छन । कतै पुल नहुँदा सडक सञ्चालनमा आउन सकेका छैनन । कतै सडक भत्किएर सञ्चालन हुन सकेका छैन । गाउँगाउँमा सडक छ । तर सडकले दिने सुविधा पुग्न सकेको छैन ।
स्थानीय तहले पहिलो बर्षलाई सडक बर्षको रुपमा मनाएका थिए । तर सडकलाई मात्र प्राथमिकता दिनु भन्दा पुलपुलेसा र सडक ग्राभेललाई चासो दिन नसकेकाले समस्या भइरहेको छ । सडक नागरिकको नजरमा देखिएको छ । तर नागरिकले सुविधा प्राप्त गर्न सकेका छैनन । गाउँमा सडक छन । स्थानीयले गाउँमा गरेको उत्पादन बजार सम्म पुग्न सकेको छैन ।
सडक खन्ने नाममा प्राकृतिक सुन्दरता माथि हमला भइरहेको छ । जताततै डोजरले सडक खन्ने काम हुदा जमिन थर्किएर पहिरोको संभावना उच्च छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा सडकले सेवा दिन नसकेको बताए । उनले भने,‘सडक बनेको छ । स्तरउन्नती गरिएका छैनन । पुल पुलेसा निर्माण हुन सकेका छैनन । कच्ची सडक दिनहु बिग्रन्छन । गाउँका सिंहदरबारले गाउँमा सडक पुर्याउनुलाई ठुलो उपलब्धि भनेका छन । तर स्थानीयले सडक पुगेको आभाष गरिरहेका छैनन । ’
सडकमा गाडी नगुडेपछि सडक छ भन्नुको अर्थ रहेन । जिल्लाका दर्जन बढि गाउँमा सडक पुग्न सकेको छैन । उपप्रमुख बुढाले थपे,‘सडक पुग्नु स्थानीयतहको उपलब्धि हो । तर पुलपुलेसाको कुनै व्यवस्थापन नगरीकन गरिएको यो विकास राम्रो पनि देखिदैन । प्रदेशको रकमले सडक खनेका छन । मापदण्ड अनुसारको सडक खनिएका छैनन । सडक छन, सञ्चालनमा छैनन । विकासका लागि सडक भन्दा पनि कार्यकर्ताको भरणपोषण्को लागि सडक खनिएका जस्ता छन । यहाँका सबै सडक सेवा नदिने सडक नै हुन ।’
गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी गाउँमा सडक पुग्दा स्थानीय खुसी भएको बताउँछन । उनले भने,‘गाउँमा सडक खनिएका छन । एक गाउँले अर्को गाउँलाई जोड्ने काम गरिएको छ । तर स्तरउन्नती नहुँदा राम्रो संग सञ्चालनमा आउन सकेको छैन ।’ अब विद्युत र भौतिकपुर्वाधार प्राथमिकतामा रहेकोमा जोड दिए ।

सम्बन्धित शीर्षक