सुर्खेतमा कोरोना सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

सुर्खेत।  जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ। जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताए। अधिकृत वाग्लेले भने , “वीरेन्द्रनगरको अङ्कभार ६६ छ। भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ। अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन्।”

याे पनि : आइतबारदेखी सुर्खेतका सबै विद्यालय सञ्चालन गरिने

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आइतबारदेखि विद्यालय खुलाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताए।

स्वास्थ्य सङ्क्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताए। दुई/तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना सङ्क्रमणको अवस्था हेरिनेछ। सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगङ्गा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन्। वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ।

सम्बन्धित शीर्षक