सर्वाधिक रक्तदान गर्ने शाक्य र पाैडेल सम्मानित

सुर्खेत । सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा सवैभन्दा धेरै रक्तदान गर्ने पुरुष तथा महिला रक्तदातासहित रक्तदान गर्ने संघसंस्थाहरुलाई रेडक्रस जिल्ला शाखाले शनिवार सम्मान गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका—९ का प्रवाशकुमार शाक्य र वीरेन्द्रनगर—६ का ज्योति पौडेललाई सम्मान गरिएको छ । रेडक्रस सुर्खेतका अनुसार शाक्यले सवैभन्दा धेरै ७० पटक र पौडेलले १६ पटक रक्तदान गरेका छन्र । प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व शाक्यले २०५४ सालतिर जर्बजस्ती रक्तदान गरेदेखि हालसम्म आउँदा ७० पटकसम्म रक्तदान गर्दा आत्मसन्तुष्टि मिलेको बताए । उनले रक्तदाताहरुलाई रक्तदान गर्न उत्प्रेरणा मिल्ने कार्यक्रमहरु गर्न सुझाव दिए । साथै सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको तर सुविधासम्पन्न रक्त संचार केन्द्र नभएकोले सुविधासम्पन्न रक्तसंचार केन्द्र स्थापनाको लागि पहल गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले रेडक्रसलाई व्यवस्थित र पारदर्शी कार्यक्रम गर्न जोड दिए । उनले सम्मानले रक्तदाताहरुलाई प्रेरणा मिल्ने उल्लेख गरे । रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्य, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम सुनारलगायतले अाफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित शीर्षक