समसाँझै खुडा प्रहार प्रकरण : न्याय माग्दै गिरीको पक्षमा प्रदर्शन, दुई आरोपित पक्राउ

सुर्खेत । यहीँ भदौ ११ गते साँझ खुडा प्रहारबाट घाइते भएका सन्तोष गिरीलाई उचित न्याय दिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी गिरी समर्थित युवाहरुले मुख्य योजनाकार पक्राउ गर्नुपर्ने र गिरीले न्याय पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

वीरेन्द्रनगर–१ कालागाउँका गिरीमाथि भदौ ११ गते साँझ करिव ६ बजेतिर कालुञ्चौकमा पाँच जनाको समूहमा अएका युवाहरुले खुडा प्रहार गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालयदेखी घटनास्थलसम्मको दुरी झण्डै ६ सय मिटर छ । कालुञ्चोकको एक कटेजमा चिया खाएर बसीरहेको अवस्थामा पाँच जनाको समूहले आफूमाथि खुडा प्रहार गरेको गिरीले नेपालीरैबारलाई जानकारी दिएका छन् । ‘एक्काशी आएर ममाथि खुडा प्रहार भयो, मलाई मार्ने उदेश्यले हानिएको खुडा छेक्न खोज्दा बायाँ हात काटियो,’ गिरीले भने, ‘वायाँ हातमा अलि धेरै र दायाँ हातमा कम चोट छ, उपचारपछि फर्किएको छु प्रहरीले उचित छानविन गरेर न्याय दिनु प¥यो ।’

घटना भएको आठ दिनपछि प्रहरी ठोस विन्दुसम्म पुग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) पदम विष्टले जानकारी दिए । यसअघि पाँच जना बढीसँग प्रहरीले सोधपुछ गरिसक्यौं,’ विष्टले भने, ‘आज पक्राउ परेका दुई जनाले नै गिरीमाथि आक्रमण गरेको प्रारम्भीक वयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ एसपी विष्टले भने, ‘पक्राउ पर्ने दुवै जना वीरेन्द्रनगरकै युवाहुरु हुन्, उनीहरुको नाम अहिले सार्वजनिक नगरौं । घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले अनुसन्धान जारी छ ।’

उनीहरुले आफैले गिरीमाथि खुडा हानेको र वीरेन्द्रनगरकै एक चर्चित व्यक्तिले हान्न लगाएको प्रारम्भीक रुपमा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ । गिरीले भने पक्राउ परको दुवै जनासँग चिनजान र सम्बन्ध नभएकाले घटनामा केही ठूला व्यक्तिहरुको हात भएको बताएका छन् । ‘मेरो अनुसन्धानबाट पक्राउ परेकालाई खुडा हान्न लगाइयो तर लगाउने व्यक्ति अरु नै हुन्,’ गिरी भन्छन्, ‘किटानी जाहेरीमा सबै खुलाएर आइतबार दिन्छु, प्रहरीले निष्पक्ष छानविन गरोस् ।’

सम्बन्धित शीर्षक