काँग्रेस वडाअधिवेशन : जुम्लाको एक्लो महिला वडा सभापतिमा सीता

जुम्लाको तिला गाउँपालिका २ मा पहिलो पटक नेपाली काँग्रेसले महिला वडा सभापति बनाएको छ । शुक्रवार सम्पन्न वडाअधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ बर्षिया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन । सीता अहिले जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडासभापति बनेकी हुन । सानै उमेरमा नेवि संघको राजनीतिमा लागेकी सीता पछिल्लो समयमा निस्क्रिय जस्तै थिइन ।
तर उनी दइ बर्ष देखि खुला राजनीतिमा आइन । ‘मैले इन्टर सम्म पढेर खेति किसान गर्दै आएको छु । यो पटक सबै नेता कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेको छु,सीताले भनिन्,‘अब वडाको काँग्रेस पार्टीको भविष्य बनाउने जिम्मेवारी आइपुगेको छ । सफलतापुर्वक पुरा गर्ने अठोट गरेकी छुन । म आफु पनि सच्चा राजनीति गर्नेछु, अन्य दिदीबहिनीलाई पनि राजनीति मार्फत आफ्ना बेदना प्रकट गर्न सक्ने बनाउँछु । ’
उनको माइतीघर हिमा गाउँपालिका ५ हो । उनी अहिले तिला गाउँपालिका २ लर्मी गाउँमा बस्दै आएकी छिन । नेवि संघको राजनीतिमा उनी वडा स्तरीय समितिको कोषाध्यक्ष सम्म पुगेकी थिइन । उनले भनिन्,‘नेता कार्यकर्ता साथीहरुले पत्याएर सभापतिको जिम्मेवारी दिएका छन । म साथीहरुको सुझाव सल्लाहको आधारमा लोकप्रीय काम गर्नेछु । महिलालाई जागरुक बनाउनेछु । असल राजीतिक चरित्रका बारेमा जनतामा जागरण फैलाउनेछु । राजनीतिमा महिला सहभागितको बारेमा आवाज उठाउनेछु । ’
सीता वडाकी विश्वास पात्र हुन । वडासभापतिमा दुइ जनाको दाबी थियो । एक जना सीता अर्को मानबहादुर बोहोरा । मानबहादुर बोहोरा वडाको तदर्थ समितिको सभापति हुन । सीताले वडासभापतिमा सहयोग गर्न भनेपनि मानबहादुरले सहजै छोडेका थिए । उनी निर्विरोध भइन । अहिले जुम्लामा रहेका ६० वडामा एक्लो वडासभापति हुन । अहिले सीताको जिल्लाभर चर्चा भइरहेको छ ।
नेपाली काँग्रेस तिला २ ले सीताको सभापतित्वमा १७ सदस्यीय कार्य समिति र १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि गठन गरेको छ ।
नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कल्से रावत तिला २ ले महिला वडासभापति बनाएर उदाहरण प्रस्तुत गरेको बताए । उनले भने,‘विकट बस्ती जुम्लामा राजनीति गर्ने महिला कमै भेटिन्छन । सीता एक उदाहरण हुन । उनको पार्टी प्रतिको लगनशिलता, त्याग, तपश्यका कारण वडा सभापति बन्न सकेकी हुन । यसले नेपाली काँग्रेसको जुम्ली राजनीतिमा नयाँ तरंग आउने आशा छ । ’
क्षेत्रीय प्रतिनिधि रावतले महिला वडासभापति पाएकोमा गर्व महशुस गरेको भन्दै निरन्तर साथ र सहयोग रहने बताए । उनले भने,‘उनले जहाँ सम्म राजनीतिक यात्रा अघि बढाउँछन । त्यहाँ सम्म निरन्तर साथ र सहयोग रहिरहनेछ । सिर्जनात्मक कार्यमा हरदम साथमा रहनेछौ ।
काँग्रेस जिल्ला सभापति दीपबहादुर शाहीले जिल्लाभर वडा अधिवेशन भव्य र सभ्य रुपमा सकिएको बताए । उनले भने,‘यहाँका सबै वडामा अधिवेशन सकिएर नयाँ समिति चयन भइसकेको छ । यो राम्रो सन्देश हो । ’ काँगेसको यही भदौ २७ गते गाउँपालिका अधिवेशन,असोज १ गते प्रदेश क्षेत्र स्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

सम्बन्धित शीर्षक