ब्यारेकमा जर्नेलको लोभलाग्दो कुटो कोदालो

जुम्ला-दर्जाले नेपाली सेनाका बाहिनीपति (जर्नेल) । जसले माथिल्लो कर्णालीका पाँच जिल्लाका एक बाहिनी र चार वटा गुल्मको कमाण्ड पनि गर्छन् । राष्ट्र सेवासँगै कृषि कर्ममा पनि उत्तिकै लगाव छ । सैन्य तालिमसँगै सधैं जवानहरुलाई रिटायर जीवन पछिको जीउने आधार, आर्थिक समृद्धिको आधारस्तम्भ कृषि नै हो भनेर परामर्श पनि दिन्छन् । जो जुम्लामा छोटो समयमै सेनाका कुशल कमाण्डर तथा किसानका अभिभावक र पे्ररणाका स्रोत बनेका छन् । नेपाली सेनाका नम्बर २४ बाहिनी अड्डा जुम्लाका बाहिनीपति यामबहादुर सापकोटा ।
कृषिलाई असाध्यै मन मराउने किसान भनेपछि हुरुक्क हुने बाहिनीपति सापकोटाले जुम्ला आएको एक वर्ष नपुग्दै ब्यारेकलाई कृषिमय बनाएका छन् । कृषि नै आर्थिक समृद्धिको मेरुदण्ढ मान्ने सापकोटा कृषि क्रान्ति नारा र भाषणमा मात्रै सीमित रहेकोले सुरुवात आफैंबाट गर्नु पर्ने बताउँछन् ।
सुर्खेतको विरेन्द्रनगर स्थायी घर भएका बाहिनीपति सापकोटा जागिरको सिलसिलामा जहाँ पुग्छन् । त्यहि कृषिका क्षेत्रमा केही नमुनायोग्य काम गरेरै फर्किछन् । तीन भाइमध्ये कान्छो छोराका रुपमा जन्मिएका सापकोटा सानै छँदा पनि बुबासँगै खेतबारीमा काम गर्न रुचाउँथे । २०४१ मा जनमावी विरेन्द्रनगरबाट एसएलसी पास गरी चितवनको रामपुरमा कृषि पढ्न नगएका पनि हैनन् । तर कृषि पढाइ पूरा गर्न ५ वर्ष लाग्ने भएपछि त्रिचन्द्र कलेजमा बिएसी पढ्न पुगे । सोही क्रममा आर्मी भर्ना खुल्यो आवेदन दिए पहिलो प्रयासमै सफल भए ।
२०४६ सालदेखि नेपाली सेनामा प्रवेश गरेका सापकोटाले कृषिमै रुचि राखेर बितेको बाल्यवस्था बुबाको कृषिप्रतिको प्रेमलाई अहिले बाहिनीपति हुँदासम्म पनि जीवितै राखेका छन् । भने अवकाशपछि पनि कृषिमै रमाउने उनको दृढ चाहाना छ ।
उनले भने, “कृषिनै पढ्ने चाहाना थियो । तर कसरी बाटो मोडियो पत्तै भएन । तर, म जहाँ भएपनि कृषिलाई माया गर्छु भन्ने संकल्प थियो । त्यसैले गणपति हुँदै बाहिनीपतिसम्म पुग्दा कृषिमय ब्यारेक बनाउने प्रयास गरेको छु । यसले जग्गा र समयको सदुपयोगसँगै गरे के सम्भव छैन भन्ने प्रेरणा दिन खोजेको छु ।”
२०६६ मा दोलखामा गणपति हुँदा किवी खेतीको सुरुवात गर्न योगदान दिएका सापकोटा २०७७ भदौदेखि जुम्लामा बाहिनीपतिको रुपमा आएका हुन् । उनी बाहिनीपतिका रुपमा आएदेखि नम्बर २४ बाहिनी अड्डा कृषिमय बनेको छ । एग्रो टुरिजमको क्षेत्रको रुपमा विकास भएको छ ।
उनले थपे, “सानैदेखि कृषिमा केहि गर्नुपर्छ भन्ने इच्छा शक्ति थियो । तर पेशाले देश र राष्ट्रको सुरक्षाको लागि खटिनु परेपछि कृषि क्षेत्र गौण बन्यो । जवान हुँदा मैले नेतृत्व पर्खिरहेको थिएँ । गण बाहिनीको नेतृत्व पाए शान्ति सुरक्षासँगै विकास निर्माण र कृषिकर्मलाई पनि सँगैसँगै अघि बढाउने संकल्प पूरा गर्दैछु ।
जुम्ला आएपछि मौसमी तथा बेमौसी तरकारी, खेती गरेका छन् । आएको एक वर्ष पुग्न लाग्यो, तर उनले बजारको तरकारी खाएका छैनन् । उनी आफैंले उत्पादन गरेको तरकारी खान्छन् । जुम्लाको शान्ति, सुरक्षा, विकास निर्माण, सञ्चार समन्वयदेखि कृषि कर्ममा सापकोटा अहिलेसम्मकै उत्कृष्ट बाहिनीपति हुन् ।
उनले भने, “कर्णालीमा कृषिको ठूलो सम्भावना छ । कृषिमा पर्याप्त लगानी भएपनि कृषि उत्पादन, प्रोसेसिङ र बजारीकरणमाको ठोस नीति बनेको छैन । कृषिका बिचौलिया मोटाउने किसान मारमा पर्ने स्थिति छ । स्पष्ट कृषि नीति नभएर पनि युवा पलायन भएका छन् । कृषिमा तीनै तहका सरकारले जोड दिनुपर्छ ।”
जुम्लामा आएको एक वर्ष नपुग्दै बाहिनीपति सापकोटा दर्जनौको किसानको खेतबारीमा पुगेर सल्लाह दिइसकेका छन् ।

विभिन्न १२ सय बिरुवा रोपियो
सापकोटा २०७७ भदौ देखि जुम्ला आएसँगै ब्यारेकमा १ हजार २ सय बढी विभिन्न जातका बिरुवा रोपिएको छ । प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार (गो ग्रिन ब्युटिफिकेशन कार्यक्रम अन्तरर्गत ब्यारेकमा विभिन्न काम भइरहेका छन् ।
२४ नम्बर बाहिनी अड्डामा स्याउ, ओखर, उत्तिस, सल्ला, ढटेलो, धुपीका बिरुवा रोपिएका छन् । चारैतिरका बारीमा आलु, मकै, सिमी, विभिन्न फूलहरु, केशर खेती, मौसमी तथा बेमौसमी तरकारी, जडिबुटीलगायतका विभिन्न खेती ब्यारेकभित्रै गरिएको छ । त्यसका साथै अर्गानिक खान्की कोदो,फापर,सिमि, सिस्नो खेती गर्ने तयारी छ । भने, थरीथरीका फूलहरु फूलेर ब्यारेक रमणिय बनेको छ ।

सम्बन्धित शीर्षक