सकस छ रानीघाट पुग्न ‘विरामीकाे विजोग’

सुर्खेत । बराहताल गाउँपालिकाको थापाडेरा र रानीघाट पुग्ने छोटो सडक हो गिरीघाटहुँदै थापाडेरा सडक । शुक्रबार परेको अविरल वर्षाले यो सडकका आधा दर्जनबढी ठाउँमा पहिरो गएपछि सडक क्षतविच्छेद बनाएको छ ।

यहीँ सडक भएर वीरेन्द्रनगर आउने नागरिकहरुलाई हरविजोग हुने गरेको छ । वर्षा नभएको बेलामा पनि झर्ने सुख्खा पहिराले यात्रा गर्नै सकस छ । गिरीघाटबाट झण्डै चार किलोमिटर दुरीको यो सडक अवरुद्धहुँदा स्थानीय नागरिकहरुलाई आवत जावत गर्न हैरानी भइरहेको छ ।

भेरी नदीमा झोलुङ्गे पुल नहुँदा वर्षेनी यहाँका नागरिकहरु वर्खाको समयमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । भेरी नदी निर्माणाधिन पक्की पुल ठेकेदारको लापरवाहीले अलपत्र छ । रानीघाट–थापाडेरा जोड्ने एकमात्र झोलेङ्ग पुल छ । त्यहीँ पुल भएर पहिरो गएको सडकमा नागरिकहरु वीरेन्द्रनगर आउँन बाध्य छन् । केही दिनअघि वर्षाले पहिरो गएपछि सडक सुचारु गरिएको थियो ।

तर शुक्रबार झरेको वर्षातले थप पहिरो गएपछि विरामीहरुलाई वीरेन्द्रनगर ल्याउन हैरानी हुने गरेको छ । ‘कोही दुःखी विरामी भएमा तत्काल वीरेन्द्रनगर लैजान नसक्ने गरी सडक विग्रिएको छ,’ स्थानीय मानबहादुर थापाले भने, ‘तत्काल पहिरो हटाइदिएको भए आवतजावत गर्न सहज हुने थियो ।’ यहीँ सडक भएर बराहताल गाउँपालिका वडा नम्बर १ र २ का थापेडेरा, रानीघाट, पाग्मा, माथिल्लो सिस्नेरी, तल्लो सिस्नेरी, डोप्का, श्रीचौर, दुविचौर, तेलपानीका नागरिकहरु वीरेन्द्रनगर आउने गरेका छन् ।

सम्बन्धित शीर्षक