विशेषज्ञ चिकित्सक नहुँदा मुगु अस्पतालमा समस्या

मुगु ।  जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थध्वज खातीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काज फिर्ता गरेपछि मुगु विशेषज्ञ चिकित्सकविहीन भएको हो ।

विशेषज्ञ नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । भदौ पहिलो सातादेखि अस्पतालमा विषेशज्ञ सेवाहरू अवरुद्ध भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सक खातीको भदौ ३ गतेदेखि काज फिर्ता भएको हो । विशेषज्ञ नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा तथा दुर्घटनाका बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता भएको उनले बताए ।

विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालमा उपचार भरपर्दो नभएको स्थानीय कमल शाहीले बताए । ‘सामान्य उपचार गर्न पनि जिल्ला बाहिर जानुपर्ने भयो,’ उनले भने, ‘विशेषज्ञ चिकित्सक, उपकरण र औषधि अभावमा लामो समयदेखि विभिन्न सास्ती भोगिरहेका छौं ।’ उनले जिल्ला अस्पतालमा उपचार भरपर्दो नहुँदा मेडिकलको भर पर्नुपरेको बताए । उनका अनुसार विशेषज्ञको अभावमा जटिल अवस्थाका गर्भवती महिला बढी सास्ती भोग्न बाध्य छन् ।

मुगु अस्पताललाई लामो समयदेखि सरकारले बेवास्ता गरिरहेको उनको भनाइ छ । उनले सातामा १० जनासम्म बिरामी रेफर गर्नुपरेको बताए । अहिले बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगन्ज र प्रदेश अस्पताल सुर्खेत रेफर गरिरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । चिकित्सक नहुँदा सबैखाले उपचार सेवा प्रभावित भएपछि मंगलबार सर्वदलीय बैठक राखेर प्रदेश सरकारसँग विशेषज्ञ चिकित्सक पठाउन आग्रह गरिएको बुढाले बताए ।

सम्बन्धित शीर्षक