मन्त्री,सचिव र कार्यालय प्रमुखबीच कार्य सम्पादन संझौता

जुम्ला,भदौ ११ । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ र मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार संझौता भएको छ । शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार संझौता गरिएको हो । यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन संझौता भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले जनाएको छ ।
‘मन्त्रालयले लिएको लक्ष्य र योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सचिव र १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग कार्य संपादन संझौता गरिएको हो,’ जलस्रोत तथा उर्जा विकास मन्त्री श्रेष्ठले भने, ‘संझौता अनुसार काम सम्पन्न गर्ने कार्यालयलाई पुरस्कार र नगर्नेलाई सजायको व्यवस्था गरिएको छ ।’
कार्यक्रममा मन्त्री श्रेष्ठले संझौताले जिम्मेवारी बोध गराउनुका साथै पुरस्कार र सजायको व्यवस्था हुने बताए । ‘संझौताको कार्यान्वयन गर्नु मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुख सबैको जिम्मेवारी र दायित्व हो,’ मन्त्री श्रेष्ठले भने, ‘कर्णालीकै उत्कृष्ट मन्त्रालय बनाउका लागि तपाईँहरु सबैको भूमिका महत्वपूर्ण रहन्छ । मलाई साथ दिनुस । सेवामा गुणस्तरता र काममा प्रभावकारीता देखाउनुहोस । ’
उनले दीर्घकालिन महत्वका योजनाहरुलाई संझौता अनुसार तोकिएकै समयमा मितव्ययिता, परदर्शिता, प्रभावकारी ढंगले पूरा गर्न पनि निर्देशन दिए । ‘यो संझौतालाई प्रक्रियागत ढंगले नबुझ्नुहोला,’ मन्त्री श्रेष्ठले भने, ‘कसरी परिणाममुखि बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रीत हुनुहोला ।’ मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यक्रमहरु कार्यान्वयन गर्दा आइपर्ने समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए । ‘संझौतामा पुरस्कृत र कारवाही दुबैको व्यवस्था गरिएको छ,’ उनले भने ।
मन्त्री श्रेष्ठले जलविद्युतका कार्यक्रमहरुलाई अघि बढाउन र जनतालाई उज्यालो प्रदान गर्नेतर्फ ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘कर्णाली जलस्रोतको धनी छ, तर यहाँका नागरिकहरु अझै अध्याँरोमै छन् ।’ उनले भने, ‘साना तथा लघु जलविद्युतको संभाव्यता अध्ययन गरेर जनतालाई अध्याँरोबाट मुक्ति दिनका लागि तपाईँहरु अघि बढ्नुहोस् ।’
मन्त्रालयका सचिव झाले कार्य सम्पादन करार संझौता अनुसार आफू र मातहतका कार्यालय प्रमुखहरुले काम गर्ने प्रतिवद्धता जनाए । ‘नयाँ मन्त्रालय भएकाले शून्यबाट काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘उत्कृष्ट र उदाहरणीय मन्त्रालय बनाउनका लागि क्षमता, विवेक र कर्णालीको आवश्यकता अनुसार काम गछौं ।’
सिनियर डिभिजनल इन्जिनियर (डिसिई) गोपाल शर्माले टार सिंचाई आयोजना, बस्ती उज्यालो कार्यक्रम, जलविद्युत आयोजना, सिंचाई, खानेपानी लगायतका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुलाई समयमै र प्रभावकारी ढंगले काम गर्न आफूहरु लागिरहेको बताए । उनले कामलाई सहज बनाउने, काम गरिसकेपछि मूल्याङ्कन गर्न सकिने सूचक र मानकहरु राखेर कार्य सम्पादन करार संझौता गरिएको बताए । ‘सम्झौतामा चालू आर्थिक वर्षभरी गरिने कामहरुको लिष्टिङ गरेका छौं,’ उनले भने, ‘तोकिएको समय र सीमाभित्र रहेर संझौता अनुसार कामहरु गर्नेछौं ।’

सम्बन्धित शीर्षक