तीन बिगा क्षेत्रफलमा उम्रिएको गाँजा नष्ट

जुम्ला सदरमुकाम खलंगा आसपासका क्षेत्रमा उम्रिएको गाँजा सुरक्षाकर्मीले नष्ट गरेका छन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गाँजा नष्ट गरेको हो । यहाँको गाँजा प्राकृतिक रुपमै उम्रिने गरेको छ ।

चन्दननाथ मन्दिरको सेला जीउलो,बसपार्क,भारतीबाडा, अस्पताललाइन र जुगाडखोला आसपासको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकोछ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई गाँजा नष्ट गर्न आफै पुगेकी थिइन । गाँजा नष्ट गर्न सुरक्षाकर्मी संगै स्थानीयले पनि साथ दिएका थिए ।

यहाँको उम्रिएको गाँजा प्रयोग गरेर पछिल्लो पुस्ता बिग्रन थालेपछि यहाँका संभावित सबै ठाउँको गाँजा नष्ट पारीएको प्रहरी नायव उपरक्षक डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

गाँजा सेवनका कारण यहाँ विभिन्न प्रकारका अपराधिक क्रियाकलाप भइरहेका छन । उनले भने,‘अब सबै क्षेत्रको गाँजा नष्ट गरिनेछ । ’ जुम्लामा गाँजा खेति गरिदैन । तर प्राकृतिक रुपमा खेतबारीमा उम्रन्छ ।

यसको सेबनका कारण विकृतिजन्य क्रियाकलाप हुन्छन । यो राम्रो पक्ष होइन । गाँजा नष्ट गर्न गाउँमा स्थापित प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

गाँजा नष्ट गर्ने कार्यमा प्रत्येक वडाका जनप्रतिनिधि सहभागि हुनेछन । राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहनेछ । नागरिक समाज, सचेत नागरिक सबै संलग्न भएर गाँजा नष्ट गर्ने प्रहरीको योजना छ ।

गाँजा प्रयोग गर्ने कार्यलाइ निरुत्साहित गर्न जुम्ला प्रहरीले अभियान चलाएको छ । प्रहरी नायव उपरिक्षक डिएसपी थापाले शनिबार मात्रै झण्डै ३ विगा क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको बताए । प्रहरीले गाँजा उम्रेको हुन सक्ने सम्भावित स्थानहरुको खोजी समेत गरेको छ । जुम्लामा गाँजा खेती गर्ने किसान छैनन ।

भदौ दोस्रो वा तेस्रो साता देखी गाँजा परिपक्व हुन्छ । कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् । यस कारण गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेको छ । त्यही भएर सुरक्षाकर्मीले भदौमा पहिलो सातामै गाँजा नष्ट गरेका हुन ।

राम्रोसँग फस्टाएको एउटा गाँजाको बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म गाँजा उत्पादन गर्न सकिने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी ११ हजार भारतीय रुपियाँसम्ममा विक्री गर्ने गरेको पाइन्छ ।

जुम्लाका खेतबारी,बाँझो जग्गामा पनि यो उम्रिने गर्छ । यसलाई यहाँको भाषामा भाँगो भनिन्छ । यसको पाता हातमा लगाएर गाँजा निकालिन्छ ।

सम्बन्धित शीर्षक