कर्णालीका सभामुखको निर्वाचन क्षेत्रमा करोडौंको बजेट

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालयका भवन र फिल्ड निर्माणका लागि करोडौँ रकम विनियोजन गरिएको छ । शाहीको दैलेख निर्वाचन क्षेत्र नं.–२ का तीन पालिकाका १५ वटा विद्यालय भवन र फिल्डका लागि मात्रै प्रदेश सरकारले ३ करोड रकम विनियोजन गरिएको हो ।

प्रदेश सरकारले १० वटा आधारभूत, एउटा माध्यमिक र एउटा आधारभूत विद्यालयको फिल्ड निर्माणको लागि भन्दै उक्त बजेट छुट्याइएको हो । प्रत्येक स्थानीय तहका ५÷५ वटा विद्यालय छुट्याई २० लाखको दरले रकमान्तर गरिएको छ । जसअन्तर्गत चामुण्डा विन्दासैनी नगरपालिकाको वडा नं. ५ मा रहेको देउती आधारभूत विद्यालय, वडा नं.–२ को जनता आधारभूत विद्यालय, वडा नं.–८ को अमकोट, ७ को कवल सरस्वती रातामाटा र ९ वडाको देउती आधारभूत विद्यालय हिउकेपानी उल्लेख गरिएको छ ।

यस्तै सभामुख शाहीको आफ्नो गृहपालिका ठाटीकाँध गाउँपालिका –६ को जनता आधारभूत, ३ को नेरा आधारभूत धामिगाउँ, ४ को महादेव ज्यामिचौर, १ को धर्मभक्त आधारभूत र २ नम्बर वडाको शुक्र आधारभूत विद्यालय जौचर छनोटमा परेका छन् ।

पश्चिम क्षेत्रमा पर्ने आठबिस नगरपालिका– ६ को भैरव माध्यमिक विद्यालयको भवन निर्माणका लागि पनि २० लाख रकम विनियोजन गरिएको छ भने आठबीस–९ को गणेश आधारभूत, २ को जनआधारभूत श्रीकोट, ५ को गोकुल आधारभूत र वडा नम्बर ८ को हिमालय आधारभूत विद्यालयको फिल्ड निर्माणका लागि बजेट छुट्याइएको छ ।

सम्बन्धित शीर्षक