फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप

जुम्लामा कोरोेनाविरुद्धको खोप अभियानलाई तीब्र पारीएको छ । दुई दिनमा २ सय २ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जनालाई खोप लगाएको हो ।
स्वास्थ्यकर्मी र सरसफाईकर्मी गरी २ सय २ जनालाई खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले जानकारी दिए । उनले भने,‘खोप लगाउनेमा ८९ जना महिला र १ सय १३ जना पुरुष रहेका छन् ।
गाउँ तथा नगरपालिकामा खोप केन्द्र स्थापना गरी शुक्रबारदेखि हिमा, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा खोप सञ्चालन भईरहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन् ।
कनकासुन्दरी, पातारासी र सिंजा गाउँपालिका माघ १७ गते र तिला र तातोपानी गाउँपालिका माघ १८ गते कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको उनले बताए ।
चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ जना थप गरी १ हजार ४ सय जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लामा ११ हजार २ सय ६५ जनाको कोरोना आरटीपीसीआर परीक्षण भएको छ । जसमा ४६६ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टी भएको ४६२ जनालाई निको भइसकेको छ । अझैँ ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कोरोनाविरुद्धको खोप संगै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्नुका साथै सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने र साबुनपानीले नियमित रुपमा हातधुन आग्रह गरिएको हो ।

सम्बन्धित शीर्षक