काम नगर्ने ठेकेदारविरुद्ध जाजरकोटका स्थानीय आन्दोलित

जाजरकोट : तीन वर्षअघि गाडीएका विद्युतका पोलहरु लथालिंग बनाइ काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका छन्।

भेरी नगरपालिका –२ कोटखोलाबाट कुशे गाउँपालिका –५ पाँचकाटिया सम्मा गाडीएका विद्युतका पोलहरु लथालिङ्ग भएको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन्। भेरी नगरपालिका –२ र कुशे गाउँपालिका पाँचकाटिया बजार व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देबकोटालाइ ज्ञापनपत्र बुझाउदै ७ दिन भित्र काम सुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

ठेक्का लिँने तर काम नगर्ने परिपाटी मौलाइरहेको बेला यहाँका नागरिकहरु दिक्क भएर आन्दोलन गर्न बाध्य भएको संर्घष समितिका संयोजक थापाले बताए। केही पोलहरु गाडीएको छ भने केही बीच बाटोमै छाड्दा ठाउँ, ठाउँमा गएको पहिरोले पोलहरु पुरिएको अवस्थामा रहेको थापाले बताए। आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश विद्युत प्राधिकरणले गरेको ठेक्कामा त्रिपुरेश्वरी जय दुर्गे जेभी काठमाडौँ यो रुटमा लाइन विस्तारका लागि ठेक्का लिएको थियो।

लिएको ठेक्का बीचमै छोडेर सम्पर्कमा नरहेको उक्त जेभिका इजिनियर नारायण लम्सालसँग हामीले सम्पर्क गर्दा विवादका कारण ढिला भएको बताए। उनले भने ,’ रुख काट्नुपर्ने र स्थानीयले विवाद गर्दा कामले गती लिन नसकेको हो, अब वर्षा सकिएपछि तुरुन्तै काम गर्ने छौँ।’

त्यस्तै उक्त जेभीले भेरी नगरपालिका –१ कालेगाउँ देखि रिम्ना सम्माको ठेक्का लिएर बीचमै छाडेको छ। कालेगाउँबाट बाहुनथाना जोड्ने प्रशारण लाइनसमेत अलपत्र बनाएको छ। मटेलादेखि भेर्रे सम्मा जोड्ने कामको लाइन समेत काफलचौर सम्मा लिएर अलपत्र परेको पाइएको छ।

वर्षा सकिनेबित्तिकै काम सुरु हुने र सो काम तीन महिनाभित्र सकिने इन्जिनियर लम्सालले बताए। तीन वर्ष सम्मा काम किन हुन सकेन भन्ने जिज्ञासामा लम्सालले भने, ‘सडक निर्माण तथा बिबादले गर्दा काम हुन नसकेको अहिले सबै कुरा सल्टिएको छ, अब काम हुन्छ।’

त्यस्तै पाँचकाटियाँदेखि कुशे सम्मा जोड्ने लाइनसमेत विस्तार हुन सकेको छैन। जिल्ला समन्वय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता तेजविक्रम शाहले लिएको ठेक्काको काम नहुँदा तीन वर्षदेखि सो कामसमेत अवरुद्ध भएको छ। नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने लाइनमा समेत शाहले काम नगर्दा बीचमै अलपत्र परेको छ।

पहुँचको भरमा ठेक्का लिने र बीचमै छोड्ने तरिकाले गर्दा सर्वसाधारणले समयमै विद्युत् बाल्न नसकेका हुन्। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले काम नगर्ने ठेकेदारलाई तुरुन्तै कारबाही हुने बताए। उनले भने, ‘ठेक्का लिने तर बीचैमा छोड्ने तरिका राम्रो भएन, मलाई पनि ज्ञापनपत्र बुझाएको छ, काम नगर्नेलाई कारबाही गरिनुपर्छ मैले नि त्यही सिफारिस गर्छु।’

पश्चिमको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि खोलिएको ठेक्काको काम समेत निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले नगर्दा पश्चिममा विद्युतकरणको काम समेत अवरुद्ध हुँदै आएको छ ।

उत्ता विद्युत प्राधिकरण जाजरकोटका प्रमुख विशाल लामिछानेले निर्माणको जिम्मा लिएका ठेकेदारलाई जति बोलाए पनि सम्पर्कमा नआएको बताए। उनले भने, ‘बोलाउदा आज आउँछु, भोलि आउँछु भन्दै दिन कटाइरहनुभएको छ। सबै नभएको काम प्रदेशको ठेक्कावालाहरुकै रहेको छ, जो तीन वर्ष क्रस भइसकेको छ।’

तोकिएको समयमा कम भइदिएको भए जिल्ला भरी अहिले सम्मा ७० प्रतिशत विद्युतिकरण हुने प्रमुख लामिछानेले बताए। जाजरकोटमा अहिले ३३ केभी प्रशारण लाइनको विद्युत सूचारु अवस्थामा रहेको  छ। कुदु स्टेशनसम्म ३३ केभी र अन्य ठाउँमा ११ केभी प्रशारणलाइन चालु अवस्थामा रहेको छ। मुख्य ठाउँकै काम नहुँदा बाँकी कामको ठेक्का खोल्न नसकेको उनको भनाइ छ।

सम्बन्धित शीर्षक