काठे ओखरको तेलको मुल्य जुम्लामै पन्ध्र सय

जुम्लाको जंगलमा पाइने काठे ओखर प्रमुख आम्दानीको स्रोत बन्न थालेको छ । जिल्लाको पातारासी ६ उर्थु र तातोपानी ४ हाँकुमा ओखर प्रशोधन केन्द्र स्थापना भएपछि आम्दानीको स्रोत बन्न थालेको हो । पहिले जंगलमै खेर गइरहेको हुन्थ्यो । घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो । तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतिमा चासो दिदैनथ्ये । अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतिमा किसान आर्कषित हुन थालेका हुन ।
जुम्लामै काठेओखर बाट निकालिएको तेल प्रति लिटर १ हजार पाँच सय रुपैयाँ पर्छ । यो तेल स्वास्थ्यवद्र्धक छ । हिमाली क्षेत्रमा पाइने ओखरको फलबाट निकालिएको तेल विश्वमै अर्गानिक हो । ओखरको तेल मसाज, व्युर्टिपार्लर देखि हाडजोर्नी सम्बन्धिको काम गर्दछ ।
स्थानीयले चुली ओखर प्रशोधन केन्द्र स्थापना गरेर काठेओखरको तेल निकाल्न थालेका हुन । हेल्भेटासको आर्थिक र प्राविधिक सहयोग,सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा मिठो परियोजनाले काठे ओखर संरक्षण र उपयोग गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ ।
ओखर खेति बारेको कार्यक्रम चन्दननाथ नगरपालिका, तातोपानी र पातारासी गाउँपालिकामा लागु गरिएको छ । सुर्य सामाजिक सेवा संघका अध्यक्ष घनश्याम नगरकोटी तीन बर्ष देखि काठे र दाँते दुबै प्रकारको ओखरमा काम गरिरहेको बताउँछन । उनले भने,‘दुईवटै जातको ओखरको मुल्य श्रृंखलालाई परिवर्तन गर्न,बजारीकरण गर्दै किसानको क्षमता विकास गर्न किसान समुह बनाएर ओखर खेतिको कार्यक्रम चलिरहेको छ । तीन वटा स्थानीय तहमा गरेर दुई सय बढि ओखर किसान छन । अहिले सबै किसान ओखरको दाना संकलन गरेर प्रशोधन कार्यमा अग्रसर छन । ’
व्यापारी र उत्पादकबीच बीचमा अन्तरक्रिया गर्ने, विजनेश प्लान निर्माण गरिदिने देखि गुणस्तरीय ओखर उत्पादन कसरी गर्नेभन्ने बिषयमा किसानलाई सहजीकरण गरिदै आएको उनी बताउँछन । जुम्लामा उत्पादित दाँते ओखरको स्वाद निकै राम्रो छ । ओखर टिप्ने,भण्डारण गर्ने, सुकाउने देखि प्याकेजिङ सम्मको काम सञ्चालन गर्न प्राविधिक सहयोग भइरहेको उनले बताए । प्रशोधन केन्द्रले दाँते र काठे दुवै प्रकारको ओखर प्रशोधन गर्छ । तर जुम्लामा काठेओखरको प्रशोधन बढि भइराखेको छ ।
काठे ओखर बनमा बेवारिसे अवस्थामा उम्रिएर फलेको हुन्छ । ओखरको तेल स्वीटजरल्याण्मा माग आइराखेको थियो । तर कोभिडका कारण अन्र्तराष्ट्यि बजार सम्म पुर्याउन नसकिएको किसान बताउँछन । दुई बर्षमा झण्डै ८० लिटर तेल उत्पादन भएकोमा हिमालयन टे«डस् काठमाण्डौँले किनेको छ। एक हजार पाँच रुपैयाँ लिटरमा किनेर लिएको किसान बताउँछन ।
प्रशोधन केन्द्रमा पहिले खुट्टाले चलाएर प्रशोधन गर्ने मेसिन राखिएको थियो । त्यो मेसिन झंझटिलो भएकोले अहिले विद्युतबाट चल्ने मेसिन राखिएको छ । यो प्रशोधन केन्द्र अवलोकनका लागि अधिकांस स्थानीयतहका किसान पुगेका छन । प्रशोधन भएर तेल उत्पादन भइराखेको हेर्छन । अनि फर्केर सिको गर्ने जनाउँदछन ।
जुम्लामा ओखरको प्रशस्त संभावना भएकोले किसानलाई प्रोत्साहित हुनेखाले नीति स्थानीयतहले ल्याउनु पर्ने किसानको माग छ । पाँच लाख रुपैयाँले बनेको प्रशोधन केन्द्रबाट उत्पादित ५ लिटर तेल फ्रान्सको ल्यापमा पठाइएको थियो । ल्यापले जुम्ली ओखरबाट उत्पादित तेल निकै गुणस्तर भएको प्रमाणित गरिसकेको छ । नेपालमा ओखरको तेलको जाँच गर्ने ल्याप रहेनछ, किसान बिर्खबहादुर बुढाले भने,‘जुम्लाबाट तेल गुणस्तर जाँचका लागि लिएपछि मात्रै थाहा भयो । उनले भने,‘ल्यापबाट जुम्ली काठेओखरको तेल निकै गुणस्तर भएको प्रमाणित भइसकेकोले बजारीकरणमा खासै समस्या छैन । ’
ओखरको तेलको बजार राम्रो छ । स्थानीय स्तरमा पनि तेलको माग बढ्दो छ, बिर्खबहादुरले भने,‘ काठेओखर बचाइदिनु पर्यो । बृक्षारोपण गरेर जंगल बनाइदिनु पर्यो । यसैमा जुम्लाबासी र काठेओखरको भविष्य छ । ’
गाउँमै ओखर प्रशोधन हुन थालेपछि ओखरको नर्सरी स्थापना गर्ने किसानको संख्या बढ्दोछ । काठेओखरलाई व्यवसायीक रुपमा लगाउन शुरु गरिएको छ । यो तेल अन्य तेल भन्दा नरम प्रकारको हुन्छ । राम्रो १४ केजी ओखर बराबर १ लिटर तेल उत्पादन हुन्छ ।
प्रशोधन हुन थालेपछि जंगलमा खेर जाने काठेओखरको दाना प्रतिकेजी २५ देखि ३५ रुपैयाँ सम्म बिक्छ । प्रशोधन केन्द्रमा ओखर फुटाल्ने मेसिन,फुटेको ओखर ग्रेडिङ गर्ने र तेल निकाल्ने मेसिन राखिएको छ । एक घण्टामा एक क्वीन्टल ओखर प्रशोधन भइसक्छ ।
स्थानीय लालबहादुर बुढा ओखर प्रशोधन केन्द्रले धमाधम प्रशोधन गर्न थालेपछि ओखरको नर्सरी राख्ने किसान बढ्न थालेका छन । बिरुवा बेचेर आम्दानी गरिहेका छन । अब सहकारी मार्फत ओखर खेतिको प्रबद्र्धन गर्ने उनी बताृँछन । दुइ बर्ष देखि यहाँ ओखर प्रशोधनको कार्य भइराखेको छ । जुम्लाको पातारासीमा मात्रै ४ टन जति काठेओखर उत्पादन हुने गरेकोछ ।

सम्बन्धित शीर्षक