ओखर बगैँचामा जनप्रतिनिधि पुग्दा किसान फुरुङ्ग

जुम्लाको व्यवसायिक ओखर खेती गरिरहेका किसानको बगैँचामा जनप्रतिनिधिको टोली पुगेको छ। टोलीले किसानले ओखर खतीमा गरेको कामको अवलोकन गरेको थियो। ओखर खेतीमा लाग्न किसानलाई उत्साहित गर्ने र व्यवसायिक किसान बन्न उत्प्रेरणा दिनको लागि जनप्रतिनिधि बगैँचामै पुगेका हुन्। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने,पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरा र उपाध्यक्ष पुन्नकली महताराको टोली ओखर बगैँचामै पुगेको थियो।

टोलीले पातारासी गाउँपालिका ६ स्थित उर्थुचौतारामा रहेको ओखर प्रशोधन केन्द्रको अवलोकन गरेको छ। उर्थुमै रहेको ओखर नर्सरी धनि खड्का बुढाको नर्सरी हेरेको थियो। जनप्रतिनिधिको टोली बगैँचामै पुग्दा किसान उत्साहित थिए। खड्का बुढाले भने,‘ओखर खेतिको लागि रकम नै हालिदिनुपर्छ भन्ने छैन। किसानकै खेतबारीमा पुगेर उर्जा थपे भइहाल्छ। ’टोलीले गुणस्तरीय ओखरको विरुवा उत्पादन गर्न आग्रह गरेको थियो।

यो संगै चन्दननाथ नगरपालिका १० का व्यवसायीक ओखर किसान शंखुबहादुर खत्रीको ओखर बगैँचामा समेत जनप्रतिनिधिको टोली पुगेको हो। खत्रीले ३२ हजार क्षेत्रफल जमिनमा ओखर खेति गरेका छन्। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले किसानले ओखर खेतिमा देखाएको चासो निकै राम्रो भएको बताइन्। उनले भनिन्,‘अव यी व्यवसायीक ओखर खेति गरीरहेका किसानबाट अरु किसानले सिक्न जरुरी छ।’ नगरपालिकाले बर्षेनी स्याउ ओखर किसानलाई सस्तो मुल्यमा उपलब्ध गराइरहेको बताइन्।

कृषि प्रर्बद्धनका लागि नीति बनाएका छौँ। किसान आत्मनिर्भर हुनु पर्ने र जीविकोपार्जनमा जोड दिइरहेका छौँ। किसानलाई प्रोत्साहित गर्न पुरस्कारको प्रबन्ध पनि गरेका छौँ, मेयर सेजुवालले भनिन्,‘नगरपालिका किसानको साथमा छ। किसान व्यवसायीक ओखर खेति प्रर्वद्धनमा लाग्नुहोस। समृद्धि यहीबाट प्रारम्भ हुनेछ। ’

ओखर भण्डारण र बजारीकरणमा बढि खपत गर्न सकिन्छ। बजारीकरण भण्डारण र निर्यात गर्न सहज सहज पनि छ। ओखर खेति आफैमा अर्गानिक छ। विश्व बजारमा माग बढ्दो छ। स्वास्थ्यकर पनि छ। मेयर सेजुवालले भनिन,‘त्यसैले व्यवसायीक रुपमा अघि बढाउनुहोस। तपाइहरुको साथमा नगरपालिका सरकार छ। ’तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कृषि क्षेत्रमा किसानले देखाएको कामको उच्च प्रशंसा गरे। उनले यहाँका किसानको ओखर बगैँचामा पुग्दा आत्मबल बढेको बताए। उनले भने, ‘कडा मेहनत गरे के हुदैन र भन्ने सन्देश दिएको भेटियो।

तातोपानी गाउँपालिकामा ओखर पकेट क्षेत्र बनिरहेको उनी बताउँछन्। हेल्भेटासको सहयोगमा सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा मिठो परियोजना मार्फत ओखर पकेट क्षेत्र चलिरहेको छ। अध्यक्ष न्यौपानेले भने,‘ओखर खेति प्रमुख आम्दानीको स्रोत बन्छ। गाउँपालिकाले बाझो जग्गा राख्न नपाउने नीति लिएको छ।  विषादी राख्न नपाउने जस्ता गरि कृषि रणनीति तर्जुमा गरेको छ। दुई वर्षसम्म निरन्तर जग्गा बाँझो रहे खेतिगर्न चाहने मान्छेलाई त्यो जग्गा उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ। बाँझो जग्गामा ओखर रोप्न प्रोत्साहित गरिनेछ। ’

पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोराले किसानलाई उर्जा दिने कार्यमा सबै हातेमालो गर्नुपर्ने बताए। उनले भने,‘हाम्रो जुम्लामा उर्वरा भुमि प्रशस्त छ। एकैनाशको हावापानी छ। यहाँ एक घर एक बगैँचा बनाउन सकिन्छ। स्याउ आलु,सिमी र ओखरलाई संरक्षण  गरेर बजार सम्म पुर्याउन सकेको खण्डमा जुम्ला आत्मनिर्भर हुन सक्छ। ’

पातारासी गाउँपालिकामा ओखर प्रशोधन केन्द्र स्थापना गरिएको छ। जहाँ ओखरको तेल प्रशोधन हुन्छ। यो हेर्न लायक कार्य हो। रकम अभावका कारण कृषिमा विकास हुन सकेको छैन। उनले भने,‘हामी कृषि नीति, रणनीति बनाउँछौँ। कार्यन्वयनका लागि रकम अभाव हुन्छ। अहिले सम्म खाली किसानलाई सिकाउने मात्रै काम गरिएको छ। ठुला व्यवसायीक किसान जन्माउन सकिएको छैन। ’

उनका अनुसार पातारासी गाउँपालिकाका हरेक वडामा कृषि पकेट क्षेत्र बनाइएको छ। किसानको बगैँचामा देखिएका समस्या र उपलब्धिका बारेमा स्थानीयतहमा छलफल गर्ने उनीहरुले बताएका छन्। यहाँका ओखर किसानलाई हेल्भेटासको आर्थिक सहयोग सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा  मिठो परियोजनाले प्राविधिक सहयोग गर्दै आइराखेको छ।

सुर्य सामाजिक सेवा संघ जुम्लाका अध्यक्ष घनश्याम नगरकोटीले जनप्रतिनिधि बगैँचामै पुगेकोले किसानका पिरमर्का, समस्या बुझ्न सहज भएको बताए। उनले भने,‘यो भ्रमण किसानका लागि उर्जा थप्न केन्द्रीत भयो। जनप्रतिनिधिका लागि पाठ सिक्ने काम भयो। समग्रमा किसान र जनप्रतिनिधि बीचको सुमधुर सम्बन्ध स्थापित गर्न केन्द्रीत रह्यो।’ अहिले ओखरको तेलको माग बढ्दोछ। यहाँका किसान दैलोमै १ हजार ५ सय रुपैयाँ लिटरमा ओखरको तेल बेचिरहेका छन्। जुम्लाको तातोपानी र पातारासी गाउँपालिकामा ओखर प्रशोधन केन्द्र स्थापना गरिएको छ।

सम्बन्धित शीर्षक