कोभिड मैदानमा बिरामीको भरोसा डा. प्रबिण

बाँकेका २३ बर्षिय एक जना लक्का जवान कोभिडका कारण भेरी अस्पतालको शैयामा छटपटाइरहेका थिए । उनी न बोल्न सक्थे, नत सास फेर्न सक्थे । तर परिवारजन काठमाण्डौको मेडिसिटी अस्पताल लैजानको लागि हेलिकप्टर चार्टरको पहल थालिरहेका थिए । हेलिकप्टरको टुंगो नलाग्दै युवाको मृत्यु भयो । त्यो दृश्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रबिण गिरीको मानसपटलमा ताजै छ । कोभिडको नाम सुन्ने बित्तिकै उनी त्यो युवाको छटपटिलाई झलझल्ती सम्झन्छन । त्यो घटना उनको कहिले नमेटिने घाउ बनेर बसिरहेको छ । आखिर पैसा छ,पहुँच छ तर बिरामी छटपटिएर मरिरहेका छन । उनले भने,‘सावधानी नै महत्वपुर्ण काम रहेछ । ’
उनी आफै उपचारमा संलग्न छन । उनलाई बचाउनको लागि हरप्रयास गरिरहेका छन । तर ती युवालाई बचाउन गरिएको सबै प्रयास असफल भएपछि उनी निकै निराश बने । उनले भने,‘कोभिडको त्यो घटना जीवनमा कहिल्यै नमेटिने गरि मगजमा बसेको छ । अब यस्तो घटना दोहोरिन नपरोस ।’
नेपालगंजको भेरी अस्पतालमा कोभिड बिरामीको भिडभाड थियो । बिरामी राख्ने बेड पाउदैनथ्यो । दैनिक मृत्यु हुनेको संख्या बढिरहेको थियो । कोभिडको बिरामी उपचार गर्न सकस भएपछि भेरी अञ्चल अस्पताल नेपालगंजले सरकारलाई चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली थप्नको लागि गुहार गर्यो । सरकारले तत्काल जेठ १८ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केही दक्ष जनशक्ति नेपालगंज पठाउन भन्यो । सरकारले भनेको २४ घण्टा नबित्दै जेठ १९ गते कर्णाली प्रतिष्ठानले ६ जनाको टोली पठायो । त्यो टोलीको कमाण्डर थिए, डा. प्रबिण गिरी । उनको टोली इमरजेन्सी मेडिकल डेप्लोमेण्ट टिमका रुपमा भेरी अस्पतालमा खटियो । प्रकोप भएको ठाउँमा छोटो समयमा परिचालन हुन गठित यो टिम जुम्ला देखि नेपालगंज विमानस्थलमा झरेर सिंँधै अस्पतालमा पुग्यो । बिरामीको उपचारमा जुट्यो ।’
डा. गिरीलाई आफ्नो टोलीको व्यवस्थापन रेखदेख र बिरामीको प्रभावकारी उपचारको चिन्ता हुन्थ्यो । पटक पटक टोलीलाई हौस्याँइरहन्थे । टोलीका सदस्यको पनि डा. गिरीलाई राम्रै साथ मिल्यो । जुन कामको लागि टोली खटिएको थियो । दत्तचित्त भएर लागेको थियो । डा. गिरी टोलीका अन्य सदस्यको उर्जा थिए । बिरामीका भरोसा थिए । भेरीअस्पतालका आशा लाग्दा चिकित्सक पनि ।
नेपालगंजको अवस्था भयाभह थियो । टोलीले सजक भएर काम गर्नुपर्ने चुनौति थियो । एक टोली कमाण्डर भएकोले टोलीको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी डा. प्रबिणको थियो । डा. गिरीले भने,‘संकटको बेला आफ्नो कर्तव्य निभाउनु असल सेवकको काम हो । त्यो काम पुरा गर्ने जिम्मेवारी थियो । जिम्मेवारी पुरा गर्न कुनै कन्जुस्याइँ भएन । ’
दैनिक २५ देखि ३० जना सम्म कोभिडका बिरामीको मृत्यु हुन्थ्यो । अस्पताल भरी बिरामी थिए । गल्ली, र सडकमै भरीभराउ । अक्सिजनको चरम अभाव थियो । एकै पल्ट धेरै बिरामी आउँदा म्यानेज गर्न पनि उत्तिकै कठिन थियो । आफै चिकित्सक भएर बिरामीको उपचार गरीरहेको हुन्थेँ । डा. गिरीले भने,‘आफु चिकित्सक भएर पनि केही गर्न नसकेजस्तो अनुभुति हुन्थ्यो । ज्यान बचाउन गाह्रो भएजस्तो हुन्थ्यो । बिरामीको छटपटिले मन कटक्क हुन्थ्यो । आफन्तको चिच्याहटले भावविह्वल बनाउँथ्यो । संकटमा पनि बिरामीको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको कामले सेवाभाव पलाउँथ्यो । ’
चिकित्सकले गर्ने उपचार त भइरहेको थियो । त्यो भन्दा बढि समस्या उपचार गर्ने उपकरण र अक्सिजनको थियो । कोभिडको बेला प्राणको रुपमा रहेको अक्सिजन नहुँदा बिरामीलाई उपचार गर्न निकै सकस हुन्थ्यो । कैयन बिरामी अक्सिज अभावका कारणले गर्दा मृत्यु हुनु परेको घटनाले अहिले पनि मन कुडिन्छ ।
बिरामी आँखै अगाडी छटपटाउदा मन छटपटिन्थ्यो । कोभिडका नयाँ बिरामीलाई बेड उपलब्ध गराउन कि बिरामी मरेको हुनु पर्ने कि त बिरामी निको भएर घर गएको हुनुपर्ने हुन्थ्यो । धेरै बिरामीको त भुइमै उपचार भयो । डा. गिरीले भने,‘कोभिडलाई खेलाँची गर्दाको परिणाम हो । ’एक बेड खाली हुँदा बिरामीका कुरुवाबीच विवाद हुन्थ्यो । यो सबै दृश्य हेर्दा चाहदाचाहदै पनि केही गर्न नसकेको जस्तै लाग्थ्यो । बिरामीको छटपटाहट र आफन्तको चिच्याहटले मनभित्र शान्ति थिएन ।
यो एक प्रकारको यद्ध थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सेनाका रुपमा खटिएका थिए,उनले भने,‘ज्यान जोखिममा राखेर पनि बिरामीको मृत्यु हुँदाको पीडा सायद जीवनमा बिर्षन सकिनेछैन । ’
अस्पतालमा भिड नियन्त्रण गर्न गाह्रो थियो । एउटै बिरामीका धेरै कुरुवा आउथे । निको भएका बिरामी घर जान मान्दैनथ्ये । आफ्नो नजिकैको बिरामी आएपछि मात्र बेड छोड्थे । जसरी पनि बिरामी बचाइदिनु पर्योभन्दै हारगुहार सुनिन्थ्यो । तर एक छेउबाट बिरामी हेर्दै जाँदा अर्को छेउको बिरामीले प्राण त्याग गरिसकेको हुन्थ्यो । एउटा चिकत्सकको लागि यो भन्दा पीडिको कुरा के हुन सक्छ ।
कम अक्सिजन धेरै बिरामीलाई लगाउदा लोड धान्न मुस्किल हुन्थ्यो ।अस्पतालमा १ सय ५० जना बिरामी अटाउँथे भने झण्डै ३ सय भन्दा बढि बिरामी भर्ना गरिएको हुन्थ्यो । कोभिड संगको यो लडाई चानचुने पक्कै थिएन । तर यो लडाइको अग्रमोर्चामा खटिएर काम गर्न पाउँदा निकै खुसि छु,उनले भने,‘बिरामीको उपचार गर्दागर्दै मृत्यु हुँुदा नराम्रो लाग्थ्यो । तर यो कठिन अवस्थामा पनि बिरामीको वरिपरि रहेर सेवा गर्न पाउँदा निकै गर्वानुभुति हुन्थ्यो । ’
जुम्लाबाट टोली खटाउँदा धेरैले जान मानेन् । कसैले पारीवारिक समस्या दर्शाए । कसैले विभिन्न बहानाबाजी अपनाए । तर डा. प्रबिण गिरी गर्वका साथ खटिन मञ्जुर भए । उनले भने,‘जोखिमपुर्ण परिस्थितीमा आफ्नो दक्षता प्रर्दशन गर्न पाउनु अवसर थियो । संकट परेको बेला सेवा गर्नुपर्छ भन्ने थियो । यो आफ्नो कर्तव्यको पाटो पनि हो । त्यो कर्तव्य पुरा गर्ने सौभाग्य मिल्यो म निकै खुसि छु । ’
जुम्लाको टिम नेपालगंज पुग्दा भेरी अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई उर्जा मिल्यो । जुम्लाको टिम प्रति ठुलो भरोसा थियो । निकै आनन्दअनुभुति गरेको जस्तो, चौतारीमा भारी बिसाएको जस्तो अनुभव भयो ।
बिरामीलाई भेन्टिलेटरमा राख्न मान्दैनथ्ये । भेन्टिलेटरमा राखिएको बिरामी घर फर्कदैन भन्ने भ्रम थियो । बिरामीको संख्या अत्याधिक हुँदा डक्टरले भन्दा पनि कुरुवाले उपचार गर्नु पर्ने बाध्यता थियो । डा. गिरी कोभिड आइसियुमा खटिएका थिए । उनी एनएसथेसियाजोजिष्ट र कृटिकल स्पेशलिष्ट हुन ।
बिरामीका कुरुवाले गएको एक हप्ता पछि जुम्लाबाट खटिएका डक्टर खोज्न थाले । यहाँको टिम प्रति विश्वास बढ्न थाल्यो । पहिले टाढैबाट उपचार गर्ने र परामर्श दिने गरिएको थियो । यहाँबाट गएको टोलीले भित्रै बोलाएर बिरामीलाई परामर्श दिन थाल्यो । औषधिउपचार नजिकै बसेर गर्न थाल्यो । बिरामीको नजिकै बस्दा उर्जा जाग्दोरहेछ । एक पटक कोभिड आइसियुमा नदेखेको अवस्थामा डा. प्रबिण गिरीको खोजि भइहाल्थ्यो । डक्टर देख्ने वित्तिकै बिरामीको उर्जा थपिन थालेको थियो । छोटो समयमै बाँकेबासीको मनमुटुमा बस्न सफल भइसकेको थियो ।
भरोसा जाग्थ्यो । संकटको समयमा जति तयारी गरेपनि पुग्ने अवस्था थिएन । भेरी अस्पताल र कर्णाली अस्पतालका चिकित्सक बीच राम्रो सम्बन्ध थियो । दोस्रो लहरको कोभिड नियन्त्रणमा आएपछि जुम्लाको टोली फर्कियो । पाँच जना एक महिनामै फर्किए । डा. गिरी अस्पतालको आग्रहमा थप एक महिना बसे । एकआपसमा हुने प्रभावकारी समन्वयले कोभिड नियन्त्रणमा लिन सकिएको अनुभव डा. गिरीको छ ।
जुम्ला देखि डा. गिरी संगै डा. हरी न्यौपाने,डा. अरुण श्रेष्ठ,स्टाफ नर्स तेन्जी लामा,सुस्मिता खड्का र एचए नरेन्द्र शर्मा खटिएका थिए । बाँकेका गाउँपालिका तथा नगरपालिकाले स्वास्थ्यकर्मी र चिकित्सकको प्रबन्ध गरेपछि जुम्लाको टोली फर्किएको थियो ।
जुम्लाको टोलीले देखाएको धैर्यता,साहस र उत्प्रेरणाले बाँकेबासीको मन जित्यो । डा. गिरी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु हेरिरहेका छन । कहिले आवश्यक परेको बेला कोभिड आइसियुमा पनि खटिने गरेका छन । संकटको बेलाका उनी सारथी हुन । उनी २०७१ साल देखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत छन । डा. गिरी चिकित्सक तथा स्वास्थ्यकर्मीका असल कमाण्डर हुन । बिरामीका भरोसा हुन । सिंगो कर्णालीका आशाको पुञ्ज हुन । संकटपुर्ण अवस्थामा पनि जोखिम मोलेर खटिन सक्ने एक साहसिक विशेषज्ञ चिकित्सक हुन ।

सम्बन्धित शीर्षक