लक्ष्मी न्याैपाने
तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट स्वास्थ्य चौकिलाई पोषण मैत्री घोषणा गरिएको छ । पोषण मैत्री स्थानीय शासन वडा घोषणाका ४९ वटा सूचक मध्ये स्वास्थ्य क्षेत्रका १६ वटा सूचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गरिएको हो ।
स्थानीय स्वास्थ्य सेवामा सुधार, पोषण सम्बन्धी सचेतना अभिवृद्धि र सेवा पहुँच विस्तारका लागि स्वास्थ्य चौकीले गरेका प्रयासको आधारमा घोषणा गरिएको हो ।
स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष आँसे बस्नेतले सुपोषित बालबालिका बनाउने सपनातिर वडा उन्मुख भएको बताए । विभिन्न कारणले कुपोषित हुने बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आउने उहाँको भनाइ छ ।
यस्तै, गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले स्वस्थ बालबालिका तयार भएमा समाज विकास हुने बताईन् । अब वडा नम्बर ८ लाई पोषण र बालमैत्री घोषणा गरिने उनको भनाइ छ ।
जुम्लाकोट स्वास्थ्य चौकिका इन्चार्ज बिराज जिसिले स्वास्थ्य सुधारको पहिलो खड्किलो पार भएको बताए । वल्ड भिजन ईन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लाद्वारा संचालित पोषण तथा जीबिकोपार्जन उत्थानसिल परियोजनाको सहजीकरणमा पोषणा मैत्री स्वास्थ्य चौकि पोषणा गरिएको हो ।
तिला गाउँपालिका–८ लाई भदौ ३० गते बालमैत्री र पोषण मैत्री वडा घोषणा गर्ने तयारी गरिएको किर्डाक नेपालका फिल्ड अधिकृत श्रिराम थापाले बताए । बालमैत्री तथा पाेषण मैत्री वडा घाेषणाका विभिन्न कार्यक्रम संचालन भईरहेका छन् ।













