जुम्लामा विषालु च्याउ सेवनबाट एकै परिवारका पाँच जना बिरामी

दिपक विश्वकर्मा जुम्ला।
जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो करिब ३ बजे भएको घटनामा लेखकमान महतराको घरमा पकाइएको च्याउ खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन्। च्याउ सेवन गरेपछि उनीहरूमा वान्ता, पेट दुख्ने र अत्यधिक कमजोरीजस्ता लक्षण देखिएपछि तुरुन्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो।

प्रतिष्ठानमा भर्ना गरिएका सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी हवल्दार भक्ति प्रसाद पाण्डेका अनुसार बिरामीहरूको प्रारम्भिक अवस्था खतरामुक्त छ।

घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा तीन जना प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ। बिरामी हुने सबै व्यक्ति लेखकमान महतराकै घरका सदस्य हुन्।

स्थानीयहरूका अनुसार यस क्षेत्रमा यदाकदा विषालु च्याउ सेवनका कारण स्वास्थ्य समस्या देखिने गरे पनि चेतनाको अभावले जोखिम कायमै छ। प्रहरी तथा स्वास्थ्य निकायले जंगली च्याउ पहिचान नगरी सेवन नगर्न आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षक