लक्ष्मी न्याैपाने
जुम्ला । जुम्लाका सबै स्थानीयतहले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएका छन् । यहाँका एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि यहाँका आठ पालिकाले कृषि,शिक्षा,उद्यमशीलता,पूर्वाधार विकास,रोजगारी बृद्धि लगायतका क्षेत्रलाई प्रथामिकता दिदै एकैसाथ नीति र बजेट ल्याएका छन् ।
जुम्लाका आठ पालिकाले कूल ३ अर्ब ३१ करोड ९३ लाख बरारको वार्षिक बजेट ल्याएका छन् । जस कनकासुन्दरी गाउँपालिकाले असार ९ गतेनै नीति र बजेट ल्याईसकेको थियो । अन्य सात पालिकाले मंगलबार बजेट ल्याएका हुन् ।
सबैभन्दा बढी जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ । उपप्रमुख रामदेवी खड्काले हिंसा पिडित महिलाको राहत उद्दार तथा पुर्नस्थापनका लागि सेफहाउस निर्माण गर्नेदेखी उत्पादन बढाउने जस्ता नीतिलाई जोड दिएर ६१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । शिर्षकगत रुपमा बाँडफाँड गर्न बाँकी छ ।
त्यस्तै तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाख ८२ हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्च तर्फ ३४ करोड १४ लाख १७ हजार ४ सय १२ रुपैयाँ र पुँजीगत खर्च तर्फ १७ करोड ४५ लाख ६५ हजार विनियोजन भएको तातोपानीकी उपाध्यक्ष रेवती रावलले बताईन् ।
विदेशबाट फर्किएका लाई सहुलियत कर्जा तथा निरब्याजी ऋण दिने,अन्तरजातीय विहे गर्नेलाई प्रोत्साहन गर्ने,सय भेडा पालेका किसानलाई मासिक भत्ता दिने जस्ता नयाँ नीति ल्याइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार अध्यक्षकोष मार्फत जुम्लाका पत्रकारहरुको प्रोत्साहनका लागि ५ लाख समेत विनियोज भएको छ ।
यसैगरी कृषि शिक्षा तथा पूर्वाधार विकासलाई प्रथामिकता दिदैँ तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजारको बजेट ल्याएको छ । उपाध्यक्ष गोरीकला बुढाका अनुसार कूल बजेटको चाल तर्फ ३४ करोड ५३ लाख ७९ हजार र पुँजीगत तर्फ १६ करोड ७८ लाख विनियोजन भएको छ ।
उता हिमा गाउँपालिकाले आफ्नै सार्वजानिक बस संचालन गर्ने,खानेपानी तथा वाताबरण संरक्षणमा जोड दिदैँ ४० करोड २ लाख ७५ हजार विनियोजन भएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
त्यस्तै सिंजा गाउँपालिकाले ४७ करोड, २२ लाख ३५ हजार बजेट ल्याएको छ । सिंजा सभ्यताको संरक्षण तथा विकासमा प्रथामिकता दिदै बजेट ल्याएको हो । भने कनकासुन्दरी गाउँपालिकाले कृषि र पूर्वाधारलाई प्रथामिकता दिदैँ ५० करोडको बजेट ल्याएको उपाध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् ।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार आगामी आवका लागि ४३ करोड ५८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । भने यता गुठिचौर गाउँपालिकाले सबैभन्दा कम ३४ करोड ७९ लाख रुपैया विनियोजन गरेको छ । जूम्लाका आठ पालिका मध्य तातोपानी गाउँपालिका बाहेक सातै पालिकाले डल्लो बजेट मात्रै ल्याएका छन् ।
तातोपानीले आठ वटै वडामा बजेट बाँडफाँड गरी विषयगत शाखाका कार्यक्रममा समेत बजेट छुटाइए सकेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताए । उनका अनुसार कर्णालीका ७९ वटा पालिका मध्य तातोपानीको बजेट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रोटोकलमा समेत प्रविष्ट भईसकेको छ ।
विगतको तुलानमा पालिकाहरुले सामाजिक विकासलाई विशेष प्रथामिकता दिएर बजेट ल्याएका छन् । तर अधिकांश पालिकाले महोत्वकाँक्षी नीति तथा कार्यक्रम ल्याएपनि बजेटमा भने संबोधन नगरेको पाइएको छ ।
रोजगारी सृजना तथा उत्पादन बृद्धिका कार्यक्रममा भने पालिकाहरु चुकेका छन् । आबश्यकतामा आधारित योजना छनोटमा जोड दिनु पर्नेमा सबै पालिकाले मागमा आधारित बजेट तथा योजना भागबन्डा गरेका छन् ।













