विपदलाई मध्येनजर गर्दै प्रयाप्त खाद्यन्न मौज्दात गर्ने निर्णय

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लामा विपदका घटना हुनसक्ने भएकोले प्रयाप्त खाद्यन्न मौज्दात गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यवसायी र स्थानीय प्रशासन बिचको बैठकमा मौसम विपद प्रतिकार्यको लागि सबै सचेत हुनुपर्नेमा जोड दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षमा बसेको बैठकले विपदका घटनाका कारण राजमार्ग अवरोध भइ खाद्यन्न अभाव हुन नदिने निर्णय गरेको हो । मनसुन सुरु भएसंगै राजमार्ग बन्द भइ जिल्लामा खाद्यन्न अभाव हुन सक्ने भएकोले प्रयाप्त खाद्यन्न मौज्दातको लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लालाई आग्रह गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए ।
उनका अनुुसार खाद्यन्न लगायतका दैनिक उपभोग्य सामानहरुको ढुवानीमा समस्या हुन नदिने,मुल्यबृद्धि,कालोबजारी,कृत्रिम अभाव लगायतका गतिविधि पुर्ण रुपमा रोक्ने निर्णय भएको हो । बैठकमा जुम्ला उद्योग बाणिज्य संघ,प्रमुख जिल्ला अधिकारी शाही र स्थानीय व्यवसायीहरु सहभागि थिए । उद्योग बाणिज्य संघ र स्थानीय प्रशासनकाे सहकार्यमा छलफल आयाेजना भएको  अध्यक्ष पुरीचन्द्र देवकाेटाले जानकारी दिए ।

सम्बन्धित शीर्षक