चन्दननाथमा बालभेला सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिकामा दुइ दिने बालभेला सकिएको छ । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना र युनिसेफ नेपाल,वल्र्डभिजन, किडार्क नेपाल र सोसेलको आर्थिक सहयोगमा बाल भेला सकिएको हो ।
बालभेलामा चन्दननाथ १ देखि १० सम्मका बालबालिकाहरु भेला भएका थिए । नीति तथा कार्यक्रम र बजेटमा उनीहरुका मागहरु संवोधन होस भन्ने हेतुले बालभेला आयोजना गरिएको किडार्क नेपालका बालसंरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए ।
उनका अनुसार बालअधिकार,बालबालिकाले गर्नुपर्ने काम र विकृती विसंगती विरुद्ध बालबालिकाले खेल्नुपर्ने भुमिकाका सन्दर्भमा समेत गहन छलफल भएको थियो ।
बालभेलामा बोल्दै नगरप्रमुख राजुसिंह कठायतले बालबालिका भविष्यका कर्णधार भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए । उनले आगामी बजेट निती तथा कार्यक्रममा बालबालिकाको रायसुझाव लिने समेत प्रतिबद्धता जनाए । हरेक कार्यक्रम,बजेट र नीति निर्माणका बिषयमा बाल सहभागितालाई प्राथमिकता दिने उनको भनाइ थियो ।
उपप्रमुख रामुदेवी खड्काले पहिले देखि बालबालिकाको हितमा काम गरिरहेको बताउदै आगामी दिनमा पनि बालमैत्री कार्यमा अग्रसर हुने बताइन । उनलाई बालबालिकाले लागुऔषध,दुव्र्यसन,छाउपडी प्रथा,बालविवाह,जातीय विभेद लगायतका बारेमा सचेतना फैलाउने कार्यक्रममा सहभागी गराउनु पर्ने भन्दै २३ बुदे माग समेत राखेका थिए ।
महिला बालबालिका शाखा प्रमुख पुष्पा थापाले बालबालिकाले समाजमा सचेतना फैलाउने कार्य गर्नुपर्ने बताइन् । उनले अब बालबालिकाको छुट्टै योजना बनाएर अघि बढ्दै लैजानुपर्नेमा जोड दिइन । बाल भेलामा ५० जना बालबालिका सहभागि थिए ।

सम्बन्धित शीर्षक