दुर्गा माबि लाम्रामा विशेषज्ञ स्वास्थ्य शिविर

लक्ष्मी न्यौपाने,जुम्ला ।
विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोली दुर्गा माध्यमिक विद्यालय लाम्रा पुगेको छ । हिउँद सुरुभएसंगै अत्यधिक चिसो बढेकोले बालरोग विशेषज्ञ डा। कमलप्रसाद थानीको नेतृत्वको चिकित्सक टोली विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न विद्यालयमा पुगेको हो ।
टोलीले १ सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो । विद्यार्थीको नाक,कान,घाँटीको जाँच गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा। पुजन रोकायाले जानकारी दिए । आँखा,छाला र मुटुको समेत चेक गरिएको अस्पतालले जानकारी दिएको छ । चिकित्सक टोलीले विद्यार्थीको स्वस्थ्यमा देखिएको समस्याका आधारमा निशुल्क औषधि उपलब्ध गरिएको बालरोग विशेषज्ञ डा। थानीले बताए ।
विद्यालयमा चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि स्थानीय दंग छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपानेले विद्यालयमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेकोमा विद्यार्थीहरु उत्साहित बनेको बताए । कैयन विद्यार्थीहरु आर्थिक अभावका कारण अस्पताल सम्म पुग्न सकेका थिएनन् । केही विद्यार्थीहरु अस्पताल सम्म पुगेपनि विशेषज्ञ सेवा पाउन सकेका थिएनन्,अध्यक्ष न्यौपानेले भने,‘ अस्पतालको टोली नै विद्यालयमा पुगेपछि मनखोलेर विद्यार्थीले स्वास्थ्य जाँच गराए । विद्यार्थीमा देखिएको समस्याको औषधि पनि विद्यालयमै पाए ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको पहलमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको विद्यालयले जनाएको छ ।
उनका अनुसार पहिलोपटक विशेषज्ञ चिकित्सक सहितको १५ जनाको टोली विद्यालयमा पुगेर विद्यार्थीको स्वास्थ्य जाँच गरेको हो ।
पटकपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय र समुदायस्तरमा विशेषज्ञ टोली पठाएर विशेषज्ञ स्वास्थ्य सेवा दिदै आएको छ । यसअघि पातारासी गाउँपालिकाको विद्यालयहरुमा पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शीर्षक