किर्डाक नेपाल जुम्लाबाट संचालन भएको रेरास परियोजना अन्तर्गत जलवायु उत्थानशिल तथा लैङ्गिक उत्तरदायी कृषि समाधानहरुको पाईलटिङ र प्रवद्र्धन मार्फत भएका कामहरुको संयुक्त अनुगमन गरिएको छ । यो परियोजना जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ५ र ६ मा संचालन भएको छ ।
दुई महिनाको लागि संचालन भएको पाईलटिङ परियोजनाको आईतबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाई लगायतको टिमले संयुक्त अनुगमन गरेको छ । युएनडिपि इसिमोडको सहयोग र किर्डाक नेपाल जुम्लाबाट संचालन भएको रेरास परियोजनाले जलवायु उत्थानशिल तथा लैङ्गिक उत्तरदायी कृषि समाधानहरुको पाईलटिङ र प्रवद्र्धन गर्ने काम गरि रहेको छ ।
परियोजनाबाट तातोपानी ५ मा सामुदायिक सिकाई केन्द्र स्थापना गरिएको छ । जलवायुमैत्री कृषि प्रविधिहरुको अभ्यास गर्नको लागि प्लाष्टिक टनेल, गड्यौला मल बनाउने विधि, भर्मिवास विधि, माटो सिमेन्ट ट्यांकि, झोल मल बनाउने विधि, माटो निर्मुलिकरण, प्लाष्टिक मल्चिङ, परालको मल्चिङ, संयुक्त धान मिल, पिठो पिस्ने मिल, थ्रेसर उपकरण, मिनिटिलर र मकै छुटाउने मेसिन समुदायका महिलाहरुलाई उपलब्ध गराईएको छ ।
वडा नम्बर ६ मा रहेको कालिका कृषक समूह र वडा नम्बर ५ मा रहको सृजनशिल फलफुल तथा तरकारी समूहका महिलाहरुलाई थोपा सिंचाई र छापो प्रविधिका बारेमा सिकाईएको छ । समुदाय स्तरमा जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नका लागि महिलाहरुलाई नयाँ प्रविधिबाट खेति गर्ने तरकारी सिकाईएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत प्रिया थापाले बताउनु भयो ।
उहाँका अनुसार महिलाहरुको कार्यबोज कम गर्नको लागि थ्रेसर, आरी, धान तथा पिटो पिस्ने उपकरण, स्याउका चाना बनाउने मेसिन र दाल पिस्ने लगायतका उपकरण प्रदान गरिएको बताउनु भयो । यी उपकरणले महिलाहरुको कार्यबोज कम गर्नुका साथै समयको पनि बचत हुने थापाले बताउनु भयो ।
जलवायु परिवर्तनले कृषि क्षेत्रलाई पारेको असरसँग आधारित तथा महिला मैत्री समाधानका उपायहरु पहिचान गरि कार्यान्वयन गर्ने उद्देश्यले रेरास परियोजना संचालन भएको उहाँकोे भनाइ छ । अनुगमनमा सहभागि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यले पाईलटिङ परियोजनाले छोटो अवधिमा धेरै राम्रो काम गरेको बताउनु भयो ।
लाम्रामा सामुदायिक सिकाई केन्द्र स्थापना भएकाले गड्यौला तथा झोल मल बनाउने विषयमा महिलाहरुले ज्ञान आर्जन गरेको उहाँको भनाइ छ । जलवायु परिर्वतनबाट महिलाहरु बढी प्रभावित भएकाले उनिहरुलाई लक्षित गरी संचालन भएको कार्यक्रमले सकरात्मक सन्देश दिएको आचार्यले बताउनु भयो ।
उहाँका अनुसार समुदायको आवश्यकताका आधारमा उपलब्ध गराईएका उपकरणले महिलाहरुको समय बचतका साथै आर्थिक हिसाबले पनि फाईदा गरेको उहाँको भनाइ छ । यस्तै तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईले लाम्रामा स्थापना भएको सामुदायिक सिकाई केन्द्रमा कृषि क्षेत्रका विद्यार्थी आएर अध्ययन गर्न सक्ने बताउनु भयो ।
झोल तथा गड्यौला मल बनाउने र टनेलमा तरकारी खेति गर्ने लगायतका धेरै विधिका बारेमा सामुदायिक सिकाई केन्द्रबाट सिक्न सक्ने उहाँको भनाइ छ । समुहमा आवद्ध २१ जना महिला बाँहेक अन्य गाउँका महिलाहरुले पनि कृषिका विषयमा ज्ञान प्राप्त गर्न सक्ने अध्यक्ष चौलागाईले बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष रेवति रावलले महिलाहरुको कार्यबोज कम गर्नको लागि उपलब्ध गराईएका उपकरणको प्रयोग गर्न सुझाव दिनुभयो । परम्परागत विधिबाट कृषि खेतिमा आवद्ध महिलाहरुलाई नयाँ तरिकाले खेति गर्न किर्डाकले सिकाएको उहाँको भनाइ छ ।
उपाध्यक्ष रावलका अनुसार कृषि खेतिमा आवद्ध महिलाहरुलाई लक्षित गरि संचालन भएको रेरास परियोजनालाई निरन्तरता दिन अनुरोध गर्नु भएको छ । रेरास परियोजना बाजुराको बुढिनन्द गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिकामा संचालन भएको छ ।
परियोजनाले जलवायु परिवर्तनले पारेको असरबाट खेति गर्ने तरिका महिलाहरुलाई सिकाउन खोजिएको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्रीवहादुर भण्डारीले बताउनु भयो । तातोपानी ६ मा रहेको कालिका कृषक समूहका अध्यक्ष देविकन्या आचार्य र ५ मा रहेको सृजनशिल महिला फलफुल तथा तरकारी समूहका तारा चौलागाईले उपकरण प्राप्त भएकाले काम गर्न सहज भएको बताएका छन् ।
आवश्यक परेको बेला किर्डाकले उपकरण प्रदान गरेको हुनाले काममा सहज भएको उनिहरुले बताएका हुन् । उपकरणले समयको बचत गराउने काम गरेको देविकन्या आचार्यको भनाइ छ । भएका उपकरण राख्ने ठाउँको अभाव रहेको उहाँले बताउनु भयो ।
यस्तै तारा चौलागाईले रासायनिक मलको प्रयोग नगरी आफै उत्पादन गरेको जैविक मल प्रयोग गर्ने बताउनु भयो । किर्डाकले सिप र ज्ञान प्रदान गरेको हुनाले घरबाट निस्केको फोहोर वस्तु र झारपातबाट गड्यौला मल उत्पादन गरिने उहाँको भनाइ छ ।
अनुगमनमा कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा, तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थवहादुर कठायत र तातोपानी ६ का वडाध्यक्ष विशाल खड्का लगायतको सहभागिता रहेको थियो ।