पातारासी वडा नम्बर ५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा

जिल्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ५ लाई
`बालमैत्री स्थानीय शासन वडा घाेषणा´ गरिएकाे छ । शुक्रबार एक समाराेहका बीच `पातारासी गाउँपालिकाकाे प्रतिबद्धता, बाल विवाह न्युनिकरणमा हाम्राे ऐक्यबद्धता´ भन्ने मुल नारासहित वडा नम्बर ५ लाई `बालमैत्री स्थानीय शासन वडा घाेषणा´ गरिएकाे हाे ।

घाेषणा सभाका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले जिल्लाकाे दाेस्राे र पातारासीकाे पहिलाे वडाकाे रूपमा बालमैत्री स्थानीय शासन वडा घाेषणा गरे ।  यसअघि  जिल्लाकै पहिलाे वडाकाे रूपमा तिला-६ बालमैत्री स्थानीय शासन घाेषणा  भइसकेकाे छ।

यस्तै, बालमैत्री स्थानीय शासन वडा घाेषणा-२०८१ जारी गरिएकाे छ । पातारासी गाउँपालिका वडा नम्बर ५ ले बालमैत्री स्थानीय शासन राष्ट्रिय नीति २०६८,कार्यान्वयन कार्यविधि २०६८,बालमैत्री स्थानीय कार्यान्वयन निर्देशिका २०७८र बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेकाे तहगत खुड्किलाहरू र ५१ वटा सूचकहरू ८८ प्रतिशत पूरा गरेकाे छ ।

कार्यक्रममा पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकि प्रमुख भगवती गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । पातारासी गाउँपालिका वडा नम्बर ५,पानीधारा जुम्लाकाे आयाेजना,पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकाे समन्वय/ सहजीकरण तथा किडर्डाक नेपाल र वल्र्ड भिजनकाे साझेदारीमा घाेषणा कार्यक्रम सम्पन्न भएकाे हाे । हालसम्म देशभरका १३ स्थानीय तह र ५१ वटा वडा  बालमैत्री स्थानीय शासन वडा घाेषणा भइसकेका छन् ।

घाेषणा कार्यान्वयनमा सराेकारवालाकाे जाेड
उक्त अवसरमा बाेल्ने अधिकांश सराेकारवालाले घाेषणाा कार्यान्वयनमा जाेड दिएका छन् । पालिकाकै पहिलो वडाकाे रूपमा बालमैत्री स्थानीय शासन वडा घाेषणा हुनु ऐतिहासिक भएकाे भन्दै कार्यान्वयनलाई ध्यान दिनुपर्नेमा जाेड दिएका हुन् ।

उक्त अवसरमा बाेल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले बालमैत्री वडा घाेषणा हुनु सकारात्मक रहेकाे बताए । उनका अनुसार यस्ता अभियान जिल्लाभर सञ्चालन हुनुपर्छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले पातारासीमा सकारात्मक अभियानकाे सुरू भएकाे बताए । गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाका अनुसार वडा नम्बर ५ मात्रै नभएर सिंगाे गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन अभियान थालिनेछ ।

सम्बन्धित शीर्षक