बालविवाह अन्त्यको लागि अभियान चलाउने प्रतिबद्धता

लक्ष्मी न्यौपाने,जुम्ला
बालविवाह अन्त्यको लागि जिल्ला स्थित सरोकारवालाहरुले रणनीति योजना निर्माण गरि अभियान चलाउन प्रतिबद्धता जाहेर गरेका छन । गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुले समतामुलक र समावेशी शिक्षा कार्यक्रम जिल्ला स्तरीय बालअधिकार,स्रोतमा पहुँच सम्बन्धि बालबालिका तथा युवाको नेतृत्वमा संवाद कार्यक्रममा उनीहरुले स्थानीय बालअधिकार समिति र वडास्तरीय बालअधिकार समिति गठन गरि क्रियाशिल बनाउने समेत प्रतिबद्धता जनाएका हुन ।
संवाद कार्यक्रम मार्फत १४ बुदे घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले प्रत्येक बर्षको योजना निर्माणमा बालबालिकाको अर्थपुर्ण सहभागिता जनाउने,बालबालिकाको क्षेत्रमा उल्लेख्य बजेट छुट्याउने समेत बताएका छन ।
हरेक स्थानीयतहमा बाल कल्याण अधिकारीको व्यवस्था गर्ने,बालविवाह निषेधित वडा घोषणा गर्ने,पालिका र जिल्ला घोषणाका लागि स्थानीयतहको नेतृत्वमा कार्यक्रम गर्ने,बाल संरक्षण नीति,रणनीति र कार्यविधिहरु बनाउने,जोखिम अवस्थामा रहेका बालबालिकाको हितका लागि बाल कोषको स्थापना गर्ने समेत घोषणा पत्रमा समेटिएको छ ।
विद्यालय छाडेका विद्यार्थीहरुका लागि आयआर्जनका कार्यक्रम ल्याउने,दिवाखाजालाई पोषणयुक्त,स्थानीय उत्पादनमय र अर्गानिक उपभोगका लागि चेकलिष्ट तयार गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।
अपांगता भएका बालबालिका घरमै पढाउने व्यवस्था मिलाउने,बालबालिकाको सिकाइ उपलब्धिमुलक गर्ने,गृह विद्यालय जस्ता कार्यक्रम प्रभावकारी बनाउने,भौतिक पुर्वाधारहरु बालमैत्री,लैगिंकमैत्री र अपांगमैत्री बनाउने र सुचनामैत्री विद्यालयहरु बनाउने देखि बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने समेत प्रतिबद्धता जनाएको किर्डाक नेपालका संयोजक दीपराज रावतले जानकारी दिए ।
कक्षा दोर्याउने दर घटाउने,उतिर्णदर बढाउने,टिकाउ दर बढाउने,तह पार गर्ने दुरी बढाउने र बाल अधिकारको सुनिश्चिता गर्ने कदमको रुपमा संवाद कार्यक्रमलाई लिइएको छ ।
हरित विद्यालयको अवधारणालाई कार्यन्वयन गर्ने,इको क्लवलाई व्यवस्थापन गर्ने देखि पनि घोषणापत्रमा उल्लेख गरिएको किडार्क नेपाल जुम्लाले जनाएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपालको आयोजनामा संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे,पालिकाका जनप्रतिनिधिहरु,महिला शाखा प्रमुखहरु,बालक्ल्व र युवाक्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक