तातोपानीमा भ्रष्टचार नियन्त्रण तथा सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको आयोजनामा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको तातोपानी गाउँपालिका अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धानका विष्णु न्यौपाने अख्तियारले गर्ने काम,मुद्धाको प्रकृति र उजुरी उपर गर्नुपर्ने क्रियाकलापका बारेमा प्रस्तुतीकरण गरेका थिए । साथै उक्त प्रस्तुती माथि सहभागिहरुले प्रश्न समेत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले गाउँपालिकाले गरेका राम्रो कामको समेत उजुरी पर्न थालेपछि काम गर्न कठिन भएको बताए । सुरु भएर सकिएका योजनाहरुको त परै जावस । सुरु नै नभएका योजनाहरुको समेत उजुरी दर्ता हुन थालेपछि विकास निर्माणका काम गर्न असहज भइरहेको दुखेसो पोखे । काम गरौं अख्तियारमा उजुरी परेर सास्ती पाउनुपर्ने त्रास त छदैंछ, त्यो भन्दा बढि रकम कामै नभइ फिर्ता हुने अवस्थाले समस्या ल्याउने देखिएको उनले बताए ।
हाल सम्म ५० प्रतिशत योजनाहरु सकिसकेकोले यो पटक विकास निर्माणको काममा राम्रै प्रगति हुने उनको भनाइ छ । नेकपा एमालेका युवा नेता आदीप्रसाद न्यौपानेले अख्तियारका कर्मचारीहरुको पनि छानविन गर्ने छुट्टै निकाया हुनुपर्नेमा जोड दिए । उनले अख्तियारमा जाने कर्मचारीहरुले पनि अरु कर्मचारीहरुलाई दुःख दिइरहेको सुनिन थालेको बताए ।
तातोपानी गाउँपालिकाका प्रवक्ता अमरबहादुर रोकायाले अख्तियारमा परेका उजुरी उपर निष्पक्ष छानविन गर्न माग गरे । उनले अर्काको लहलहैमा र रिसिबीमा दिएका उजुरीहरु खारेज गर्न समेत माग गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण पुडासैनीले बेनामे उजुरी दर्ता गरेर प्रमाणित भएन भने माथिल्लो निकायमा कार्वाहीको लागि सिफारीस गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने बताए ।
तातोपानी गाउँपालिकाले बैशाख मसान्तमा योजनाको काम सकाउने गरिरहेको कामको उच्च प्रसंसा गरे । पाटीगत रुपमा फरक मत भएपनि गुणस्तरताको आधारमा उजुरी हाल्नुपर्नेमा जोड दिदै लोभ लालच र गलत नियतले उजुरी हाल्न नपाइने समेत बताए ।
कार्यक्रममा नेकपा एमालेकी नेतृ नारायणी चौलागाई लगायत राजनीतिकदल, नागरिक समाज,उपभोक्ता समिति,शिक्षक,कर्मचारी,सुरक्षाकर्मी पत्रकार र सहभागिहरुले आ आफ्नो जिज्ञासा राखेका थिए ।

सम्बन्धित शीर्षक