जुम्ला — जुम्ला सदरमुकाम खलंगामा सञ्चालन भएको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा विजेता जुम्लाको टिमलाई सम्मान गरिएको छ ।
फुटबलको क्षेत्रमा जुम्लालाई नाम चिनाउन सफल भएको भन्दै कर्णाली खेलकुद क्लब जुम्लाले खेलाडीहरुलाई सम्मान गरेको हो । जुम्लाले हुम्लालाई ०-४ गोल गर्दै पराजित गरेको थियो । कर्णालीका १० मध्ये ६ जिल्लाबाट खेलाडीहरु फुटबल खेल्न जुम्ला पुगेका थिए । सो अवसरमा जुम्लाले सुर्खेत र हुम्लाको टिमलाई पराजित गरेर विजेता बनेको थियो । फागुन १५ देखि १८ गतेसम्म फुटबल प्रतियोगिता चलेको थियो ।
कर्णाली खेलकुद क्लबका संरक्षक विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले फुटबल खेलमा खेलाडीहरुले प्रदर्शन गरेको खेल निकै राम्रो देखिएको बताए । उनले खेलाडीहरुको मिहिनेत, प्रशिक्षकहरुको नियमित निगरानी र टिमको व्यवस्थापनको कुशल व्यवस्थापनले प्रदेशस्तरीय फुटबल विजेता बन्न सकेकोमा खुसी व्यक्त गरे ।
धावक रोकायाले खेलाडीलाई नियमित खेलमा लाग्नसमेत आग्रह गरेका छन् । साधनाबिना कुनै पनि कामको उपलब्धि नहुने भन्दै दत्तचित्त भएर फुटबल खेलमा सहभागी हुनुपर्नेमा उनको जोड थियो ।
खेलाडीहरुले पहिलो पटक कर्णाली खेलकुद क्लबले खेलाडीहरुको सम्मान गरेकोमा हौसला बढेको प्रतिक्रिया दिएका थिए । यसअघि जुम्लाका फुटबल खेलाडीहरुले मुगुको खत्याडमा भएको प्रतियोगितामा समेत जितेका थिए ।
जुम्लामा फुटबल खेलको संभावना निकै राम्रो छ । तर खेलमैदान नहुँदा खेलाडीहरु नियमित अभ्यास गर्न पाइरहेका छैनन् । प्रतियोगिता आयोजना गर्दासमेत नेपाली सेनाको खेलमैदान मागेर खेलाउनुपर्ने बाध्यता छ ।
जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले व्यवस्थित खेलमैदान र खेलाडीहरु प्रतिको सम्मान आवश्यक रहेको बताए । उनले भने, ‘पहिले मोजाको बलबाट सुरु भएको फुटबल, गाउॅपालिका हुँदै जिल्ला र प्रदेशसम्म पुगेको छ ।’ खेलाडीहरुले पनि जुनसुकै प्रतियोगिताहरुमा अनुशासन र मर्यादित भएर खेल खेल्ने प्रतिबद्धता जनाएका छन् ।