शैक्षिक सुधारका लागि तातोपानीका विद्यालयमा कक्षकोठा अनुगमन

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिकाले शैक्षिक सुधारका लागि प्रत्येक विद्यालयमा कक्षकोठा अनुगमन गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर दक्षजनशक्ति उत्पादन गर्ने हेतुले कक्षकोठाको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए । अनुगमनमा बिषयविज्ञ,अभिभावकहरु र शिक्षा शाखामा कार्यरत कर्मचारीहरु अनुगमनमा सहभागि थिए ।
अनुगमनका क्रममा देखिएका समस्याको पहिचान गरेर भौतिक विकास देखि शैक्षिक विकासका लागि काम गर्न सकिने शाखा प्रमुख शाहीले बताए । विद्यालयको भौतिक अवस्था,दरबन्दीको अवस्था,शैक्षिक सामाग्रीको प्रयोग र पाठ्य योजना बनाए/नबनाएको समेत अनुगमन गरिएको थियो ।
पालिका भित्रका २९ विद्यालयमा कक्षकोठाको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख शाहीले बताए । गत बर्ष पनि गुणस्तरीय शिक्षा प्रदानको लागि भन्दै हरेक विद्यालयमा अनुगमन गरिएको थियो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले पालिका भित्रको शैक्षिक सुधारका लागि प्राथमिकताका साथ अघि बढेको बताए ।
उनले भने,‘ शिक्षा विना हामी केही गर्न सक्दैनौ त्यसैले हामीले शिक्षा प्राथमिकतामा राखेर काम गरेका छौंं ।’ अनुगमनमा शैक्षिक अवस्था,विद्यालयको व्यवस्थापन,समुदायको हेराई,शिक्षकहरुको विज्ञताको समेत मुल्यांकन हुने गरेको उनले बताए । उनले अनुगमनमा देखिएका समस्याको आगामी बजेटमा संवोधन गर्न सकिने अवस्था रहेकोमा जोड दिए ।
अघिल्लो बर्ष दिवाखाजालाई पारदर्शी बनाउन विद्यालयमा विद्यार्थीहरुको टाउको समेत गनिएको थियो ।

सम्बन्धित शीर्षक