विद्युतलाइन पुगेपछि नियमित बन्यो फोन सेवा

लक्ष्मी न्यौपाने,जुम्ला ।
विद्युतलाइन पुगेपछि जुम्लाका १३ गाउँमा नियमित टेलिफोन सेवा सञ्चालनमा आएको छ । जिल्लाको तातोपानी र चन्दननाथ नगरपालिकाका गरेर १३ गाउँमा टेलिफोन सेवा नियमित थिएन । टेलिफोन टावर स्थापना भएको चार बर्ष भइसकेको थियो । तर सोलारको व्याट्रीमा समस्या आएपछि दैनिक बेलुकी ६ बजेदेखि विहान ७ बजे सम्म नेटवर्किङले काम गर्न छाडेको थियो ।
जसल सहजै रुपमा आवश्यक भएको बेला टेलिफोन संवाद गर्न कठिन थियो । तातोपानी ४ का वडाध्यक्ष अमर रोकायाले सदरमुकाम नजिकैको क्षेत्र भएपनि टेलिफोन सेवाबाट बञ्चित हुनु पर्दा पिडाको महसुस हुने गरेको बताए । तातोपानी ४ हॉकुको लाग्ना भन्ने स्थानमा टेलिकमले टावर बनाएको छ ।
वडाध्यक्ष रोकायाले भने,‘आकाशमा वादल लाग्ने वित्तिकै टेलिफोन सेवा बन्द हुने गरेको थियो तर विद्युत लाइन टेलिफोन टावरमै जडान भएपनि अहिले सहज भइरहको छ । ’ उनका अनुसार विद्युत जडान भएपछि तातोपानी ४ का नियापानी,गिडिखोला, पर्थेनी, पाण्डेवाडा र चन्दनाथ नगरपालिकाका जातिभिड, उमखोला, स्यालबाडा, रोकायावाडा, तलिउम, उमगाढ, श्रीढुष्का, खल्ला,सिलाम गाउले सहजै रुपमा टेलिफोन सेवा पाएका छन ।
नेटवर्क समस्याको दिगो समधानका लागि स्थानीय जनप्रतिनिधि, उपभोक्ताहरुबाट नेपाल टेलिकम जुम्ला समक्ष डेलिगेसन,जिल्ला प्रशासन कार्यालय जुम्ला माफर्त सरकारलाई ज्ञापन पत्र पेश भइरहेको थियो ।
तातोपानी गाउपालिका ४ ले गत आर्थिक बर्षमा वडामा गएको बजेट शिर्षकबाट रु ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतबाट ९ लाख ९६ हजार ४ सय २५ रुपैयॉ पैसा गरेर जम्मा १५ लाख ९६ हजार ४ सय २५ रुपैयॉ ६६ पैसाबाट टेलिफोन टावर सम्म बिजुली जडान गरिएको हो ।
तातोपानी ४ मा रहेको जालपादेवी ग्रामीण बिधुत सहकारी संस्था लि जुम्ला द्वारा उत्पादित गिरीखोला लघु जल बिधुत आयोजनाको नियापानी गाउमा रहेको १५ केभी ट्रान्सर्फमर देखी २१ वटा बिधुत पोल, थ्रिफेस लाईन हाकु लाग्ना मोवाईल टावर सम्म पुर्याएर नियमित टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।
गत मंसिर २८ गतेदेखि जस्तो सुकै समस्या आएपनि टावर नजाने भएको वडाध्यक्ष रोकायाले जानकारी दिए ,। उनले भने,‘अब बेलुकीको समयमा मोवाइल नेटवर्क बिच्छेद हुने समस्याको दिगो समाधान भएको छ । ’

सम्बन्धित शीर्षक