लक्ष्मी न्यौपाने,जुम्ला,
जुम्ला तातोपानी गाउँपालिका ६ स्थित हियाखोला गाउँमा रहेको कालिका आधारभुत विद्यालयको १५ औं बर्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइको प्रमुख आतिथ्यमा विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको थियो ।
बार्षिकोत्सवका अवसरमा विद्यालयको बार्षिक आय व्याय र प्रगति विवरण प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पशुपति शाही चौलागाइका अनुसार जम्मा विद्यालयको आय ३२ लाख ७७ हजार ५ सय २० रुपैयाँ रहेकोमा व्याय ३२ लाख ६१ हजार ३ सय २० रुपैयाँ रहेको छ । १६ हजार रकम बैंकमा मौज्दात रहेको प्रधानाध्यापक शाही चौलागाइले बताइन् ।
बार्षिकोत्सवमा बोल्दै गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले विद्यालय स्थापना गर्न आफ्नो भुमिका महत्वपुर्ण रहेको बताए । उनका अनुसार स्थापनाकालमा हियाखोलामा एक जना वैठकको माइनु्ट गर्ने व्यक्ति नभएको र अहिले अंग्रेजीमा भाषण गर्ने व्यक्ति जन्मेकोमा खुसी व्यक्त गरे । जिल्लाकै नमुना विद्यालय बनाउन शिक्षक,अभिभावक र विद्याथीहरुको सामुहिक प्रतिबद्धताको खाचो रहेकोमा जोड दिए ।
उपाध्यक्ष रेवती रावलले विद्यालयको शैक्षिक सुधारका पालिका सरकार लागि परेको बताइन । तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले शिशु अवस्थामा रहेको विद्यालय नमुना बन्दै गइरहेको बताए । उनले वडा सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्न र दक्ष जनशक्ति उत्पादन गर्न लगानी बढाइरहेको बताए । तातोपानी ५ का वडाध्यक्ष छिरिङ महतले विद्यालय राम्रो बनाउन अभिभावकको भुमिका राम्रो हुनु पर्ने बताए । उनले स्थानीय सरकार पालिका भरिको विद्यालयको शैक्षिक सुधारमा लागि परेको बताए ।
दुर्गा मावि लाम्राका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता आदीप्रसाद न्यौपानेले विद्यालय स्थापना गर्न निकै चुनौति रहेको भन्दै अहिले विद्यालयको प्रगति देख्दा खुसी भएको बताए । उनले विद्यालय स्थापना गर्न पहल गर्ने सबै सरोकारवाला व्यक्तिहरु धन्यवादको पात्र भएको बताए । आगामी दिनमा विद्यालयको भौतिक,आर्थिक र शैक्षिक उन्नतीको लागि लागि पर्ने प्रतिबद्धता जनाए ।
सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाइले विद्यालयमा सिकाउने,टिकाउने र विकाउने शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले स्वदेशमा मात्र नभएर विदेशमा रोजगार पाउने जनशक्ति उत्पादन हुनुपर्ने बताए । जहाँ रहेपनि विद्यालयको चौतर्फी विकासका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।
बार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिका,पत्रकारहरु,पुर्व विव्यस अध्यक्ष र विद्यालयको हितमा काम गर्ने व्यक्ति संस्था सबैलाई सम्मान गरिएको थियो ।
विद्यालयको विकासमा संधै तत्पर भएर लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले बताए । बार्षिकोत्सव संगै विद्यालयको पुस्तकालय समेत स्थापना गरिएको छ ।