लक्ष्मी न्यौपाने,जुम्ला ।
चन्दननाथ भैरवनाथ मन्दिर गुठि समितीका अध्यक्ष अमरबहादुर थापाले पर्यटकीय गन्तव्यका रुपमा रहेको चन्दननाथ भैरवनाथ मन्दिर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन । उनले धार्मिक पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न सबै मिलेर जानुको विकल्प नरहेको बताए ।
अहिले नेपालको ठुलो ताल रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरेर मात्र फर्किइरहेका छन,उनले भने,‘उनीहरुको रेकर्ड राख्ने काम भइरहेको छ । उनीहरुले चढाउने भेटिको हिसावकिताव राख्ने काम भइरहेको छ । जसले बर्षमा कति पर्यटकहरु भित्रिए । उनीहरुले कति भेटि चढाए । रेकर्ड राख्न सहज भइरहेको छ । ’ गत बर्षमा १० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुले मन्दिरमा दर्शन गरेको तथ्यांक छ ।
गुठि समितिका अध्यक्ष थापाले मन्दिरमा आउने पर्यटकहरु बढिरहेकोले प्रचारप्रसार पनि तीब्र भइरहेको बताए । पहिले देखि चन्दननाथ मन्दिरमा पुजा गर्ने आफ्नै प्रकारको संस्कार छ । त्यो संस्कार ब्युताउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । पहिले चन्दननाथ नगरपलिका गुठिचौर गाउँपालिका ,तातोपानी,पातारासी र तिला गाउँपालिकाबाट सिक ल्याउने चलन थियो । अहिले हराएको छ ।
उनले भने,‘अब सबै स्थानीयतहबाट सिक ल्याउने वातावरण बनाइदैछ ।’ जसका लागि आ आफ्नो जग्गाको सिक ल्याउन आग्रह गरिएको छ ।
मन्दिरको जग्गामा खेतिपाती गर्ने र गुठिको टहराहरुमा बस्नेहरुको उच्च निगरानी गर्ने गरिएको छ । भाडामा टहरा लिएकाहरुले मनपरी रुपमा अर्कैलाई भाडामा दिएर महंगो रकम अशुलीरहेको गुनासो आइरहेको छ । टहराबाट उठ्ने रकम आधा गुठि समितिलाई बुझाउने र आधा आफैले लिने गरेको देखियो,अध्यक्ष थापाले भने,‘अब गुठि समितिले आफ्नो सम्झौता अनुसार कार्य अघि बढाउने छ ।’
अहिले पहिले देखि नउठेको भाडा उठिरहेको छ । सिंधै व्यवसायीहरुले गुठिलाई भाडा दिइरहेका छन । आगामी दिनमा महिना पुग्ने वित्तिकै गुठिको नामको बैक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको अध्यक्ष थापाले बताए ।
मन्दिरको गेटमा इन्ट्री गरेर मात्र भित्र वाहिर जान मिल्ने गरि व्यवस्थापन हुन लागेको छ । जसका लागि नागरिक समाज,राजनीतिकदल,जनप्रतिनिधिहरु,सरकारी तथा गैरसरकारी निकायाहरु संग हातेमालो गर्ने प्रयास भइरहेकोमा गुठि समितिले जोड दिइएको छ ।
मन्दिरमा सिसी क्यामरा जडान गरिएको छ । सुरक्षाको लागि प्रहरी पोष्ट राखिएको छ । अध्यक्ष थापाले भने,‘बाहिरबाट बाबाको भेष धारण गरेर आउनेहरुको पनि पहिचान गरेर मात्र मन्दिर भित्र प्रवेश दिने निर्णय भइसकेको छ । ’
सदरमुकाम खलंगाको बिचमै मन्दिर भएकोले सबैले मन्दिर अवलोकन गर्न देखि पुजाआजा गर्न सहज हुने गरेको छ ।