लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाका विभिन्न स्थानीयतहमा किडार्क नेपालले सञ्चालन गरेको योजनाहरुको अनुगमन गरिएको छ । जिल्लाको तिला,पातारासी,गुठिचौर,तातोपानी र चन्दननाथ नगरपालिकामा सञ्चालन गरिएका कार्यक्रमहरुको अनुगमन गरिएको हो ।
चन्दननाथ नगरपालिकामा राजबहादुर भक्री र लक्ष्मी नारायण देवकोटाले सञ्चालन गरेको खुद्रा पसलहरु अनुगमन गरिएको थियो । किडार्क नेपालले ४९ हजार बराबरको आर्थिक सहयोग गरेको उनीहरुले बताएका छन ।
गुठिचौर गाउँपालिका ५ मा रहेको धवलपुरा स्याउ उत्पादन समुहलाई थ्रेसर मेसिन दिइएको थियो । जौं,गहुं,सिमी,धान र कोदो चुट्न सहज भएको किसानहरुले बताएका छन ।
समुहकी सदस्य सरिता आचार्य पान्डेले ६८ हजार रकम बराबरको थ्रेसर मेसिन दिइएको बताइन् । गाउँमा थ्रेसर मेसिन आएकोले समयको बचत हुनुका साथै उत्पादनमा हौसला मिलेको उनको भनाइ छ । यो संगै किसानहरुले ग्रिन हाउस बनाएर तरकारी समेत उत्पादन गरिरहेका छन ।
अनुगमनका क्रममा गुठिचौर ४ मा २ वटा बालविवाह रोकेर बालविवाह वडा घोषणा गर्ने तयारी भइरहेको पाइएको किडार्क नेपालका रामशंकर दवाडीले जानकारी दिए । अनुगमनमा पातारासी गाउँपालिकामा रहेको दुर्गादेबि महिला कृषि बहुद्धेशीय सहकारी संस्थाको आलु चिप्स बनाउने उद्योग समेत हेरिएको थियो ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई लगायतका सरोकारवालाहरुको अनुगमनमा सहभागिता रहेको थियो ।
वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना र बाल स्पन्सरसिप परियोजना अन्तर्गत समुदाय स्तरमा भएका कामको अनुगमन गरिएको थियो ।
तिला क्षेत्रमा समन्वय प्रमुख गौरीनन्द आचार्य सहित तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र पातारासी क्षेत्रमा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा र दानवहादुर बुढाको अगुवाईमा अनुगमन भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीवहादुर भण्डारीले जानकारी दिए ।
बाल समृद्धि र जीविकोपार्जनका क्षेत्रमा किडार्क नेपालले पॉचवटा स्थानीयतहमा काम गरिरहेको छ । तिला १ रारागाउँमा शान्ति बुढाले ढाका बुनाइ, सुनमाया बुढाले सिलाइकटाइमा सहयोग पाएकी हुन । रारागाउँमा गठन भएका सफलता सिमी उत्पादन समूह र हरियाली सिमी उत्पादन समूह, राराको सेरी बजारमा संचालित दुई महिने सिलाई कटाई तालिम, सीता मावि रारालिहिमा बाल अधिकार समितिले गरेको कामका विषयमा अनुगमन भएको छ ।
तातोपानी गाउँपालिका ५ मा रहेको गौरीघाट सिमि उत्पादन समूह र चन्दननाथ नगरपालिका ९ मा रहेको घोगेसिम तरकारी उत्पादन समूहले गरेको कामको अनुगमन भएको छ । किर्डाक नेपाल जुम्लाको सहयोगमा गठन भएका समूह, बाल अधिकारी समिति र व्यवसायमा सहयोग पाएकाहरुले खुसी व्यक्त गरेका छन् ।
निम्न आयस्तर भएका नागरिकलाई गरिएको सहयोगले जीवनशैली परिवर्तन भएको अनुगमनका क्रममा भेटिएको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए । किर्डाक नेपाल जुम्लाले दिएको थ्रेसर मेसिन, ग्रीन हाउस र त्रिपाल सदुपयोग भएको पाईएको छ ।